दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नै नबुझेकाहरु राजा फर्काउन लागेको भन्दै टिप्पणी गरेका छन् ।
झापाको दमकमा शनिबार एमालेद्धारा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा नआउने बताउदै राजनीति नै नबुझेकाहरु राजा फर्काउन लागेको बताएका हुन् ।
उनले नेपालमा अब राजसंस्था फर्कने सम्भावना नभएको बताउदै भने-‘दुई-चार जना मान्छे राजा फर्काउँछौं भन्दै हिँडेका छन् । गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन् । राजनीति भनेको थाहा नै नपाएका ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएका छन् । ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउँन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताए ।
उनले भने- 'देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैँक डुबाउनेहरु, आगजनी गर्नेहरु रक्सीका बोतल लुटेर भाग्नेहरुले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठुला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको अशली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ ।'
उनले आफुहरु स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेको बताउदै अस्थिरतावादीहरुको कुनै भ्रममा नपर्न आग्रह गरेका थिए ।