• २०८२ बैशाख ५ शुक्रबार

त्रिविका उपकुलपति बरालको राजीनामा पत्र स्वीकृत

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति केशरजंग बरालको राजीनामा पत्र स्वीकृत गरेका छन् । प्राध्यापक बरालले आफू अस्वस्थ्य भएकाले विश्वविद्यालय चलाउन नसक्ने भन्दै चैत १४ गते उपकुलपति पदबाट राजीनामा दिएका थिए । 

उनको राजीनामा बिहीबार स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री त्रिविको कुलपति हुने व्यवस्था छ।

त्रिवि ऐनअनुसार उपकुलपति नियुक्ति र राजीनामा स्वीकृत गर्ने अधिकार कुलपतिमा निहित छ । सोहीअनुसार उपकुलपति बरालले पेस गरेको राजीनामापत्र सनाखत गरी कुलपति ओलीले स्वीकृत गरेका हुन् ।

बराल २०८० फागुन १० गते नेकपा माओवादी केन्द्रको कोटामा उपकुलपति नियुक्त भएका थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलपतिको हैसियतले बराललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

उपकुलपति बरालको राजीनामा स्वीकृत भएपछि त्रिवि नेतृत्वविहीन बनेको छ । त्रिवि ऐनअनुसार शिक्षाध्यक्षलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै