काठमाडौँ । अमेरिकामा बसेर नेपाली उपन्यास तयार गरेका उपन्यासकार ज्ञानेन्द्रराज काफ्लेद्वारा लिखित उपन्यास नौला शिक्षकहरू हालै राजधानीमा लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित लोकार्पण समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सो उपन्यास विमोचन गरेका हुन् । काफ्ले सर्वाेच्च अदालतको अधिकृतको जागिर छाडेर दुई दशकअघि अमेरिका गएका थिए । उनले फुर्सदको समय निकालेर साहित्यिक कृतिमा लाग्दा साहित्यिक क्षेत्रलाई एउटा पठनीय नेपाली उपन्यास दिएका छन् ।
प्रमुख अतिथि रहेका पूर्व प्रधानन्यायाधीश श्रेष्ठले उपन्यासकार काफ्लेको लेखनशैली र भाषिक सीप बारे टिप्पणी गर्दै काफ्लेको उपन्यासले फरक धार र शैलीमा समातेको बताए। उनले पुस्तकमा पूर्वीय दर्शनको गहिरो प्रभाव रहेको र स्थान विशेषको लवजलाई जीवन्त रुपमा प्रस्तुत गरिएको पनि उल्लेख गरे ।
लोकार्पण समारोहका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री गंगा प्रसाद उप्रेतीले उपन्यासकार काफ्लेको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए । विशिष्ट अतिथि श्री उप्रेतीले कथा र उपन्यासको मिश्रित स्वरुप रहेको यो कृतिलाई कथान्यासको परिभाषामा राख्न सकिने बताए । उक्त कृतिमा आत्मअनुभूतिसहितको श्रृंखलाबद्ध कथा उपकथाको संयोजन मार्फत काफ्लेले नयाँ प्रयीग गरेको पनि उप्रेतीको टिप्पणी थियो ।
नेपालको आख्यान साहित्यमा यो कृति एउटा नौलो प्रयोगको रुपमा रहेको बताउँदै उनले फरक शैली र अवधारणाबाट लेखिएको यो उपन्यास समकालीन उपन्यास लेखनको नवीन प्रयोग रहेको उनले बताए । जीवन चिन्ने प्रयत्नमा लेखकले आफ्नो संसर्गमा रहेका अनेकौँ गुरुको संगत गरेको देखिएको र कठिन जीवन यापन गर्न विवश भुइँमान्छेलाई समेत गुरुको रुपमा अंगिकार गरी विशिष्ट प्रकारले जीवन दर्शनका बहुआयामिक पक्षलाई उजागर गर्न सफल रहेको पनि उप्रेतीको टिप्पणी थियो ।
पुस्तक प्रकाशक सोपान मासिकले प्रकाशन गरेको उक्त कृतिले नेपाली भाषा र साहित्यमा एउटा ईंटा थपेको पनि प्रकाशकले बताएका छन् ।
उपन्यासकार काफ्लेले सतहमा रहेका मानिसदेखि उचाइमा रहेका मानिसहरुले दिएको ज्ञान र चित्रण गरेको जीवन दर्शनलाई प्रस्तुत उपन्यासमा अभिव्यक्त गर्ने प्रयत्न गरेको बताए । जन्म र मृत्युलाई हेर्ने दृष्टिकोण र एउटा जिवन्त मानिसले भोगेका विभिन्न परिवेशका अनुभूतिहरुसँग आबद्ध गरी सतहका मानिसको गाथा अभिव्यक्त गर्ने प्रयत्न गरेको बताए ।
लोकार्पण समारोहमा साहित्पपोष्टका प्रधान सम्पादक अश्विनी कोइरालाले लोकार्पण गरिएको कृति नौला शिक्षकहरूको समीक्षात्मक टिप्पणी गरेका थिए ।