• २०८२ बैशाख ५ शुक्रबार

कुलमानको विषयमा विपक्षी सडकदेखि संसदसम्म विरोधमा, ओलीको बाहिरबाटै जवाफ

kharibot

काठमाडौँ । कुलमान घिसिङलाई हटाएको विषयले सडक संसद तातिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नो शैली अनुसारकै जवाफ फर्काएका छन् ।

बुधबार विपक्षी दलहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरुद्ध गर्दै कुलमानलाई हटाउने फिर्ता लिन माग मात्र गरेनन्, उनीहरुले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ नदिए संसद चल्न नदिने भन्दै अवरुद्ध गरे । संसदबाट बाहिरिदै गर्दा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद नचल्ने स्पष्ट गर्दै आफुलाई ओलीले स्वर्ग नर्क देखाइदिएको अनुभूति भएको बताए ।

अर्कोतर्फ प्रधानमन्त्री ओलीले भने बुधबार एमालेको भ्रातृ संगठन युवासंघको कार्यक्रममा बोल्दै संसदमा जवाफ नदिने स्पष्ट सन्देश दिए । उनले प्रधानमन्त्रीले जवाफ दिइसक्यो भन्दै एउटा हटाएर अर्को नियुक्ति गरेको त्यहि जवाफ भन्दै संसदमा जवाफ नदिने बताए ।

उनले भने- ‘प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्‍यो रे पार्लियामेन्टमा । जवाफ दिइसक्यो । कहाँ पार्लियामेन्टमा जवाफ दिने ? थाहा पाइएन ? एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो ।’

प्रधानमन्त्री ओलीले विपक्षी दलहरुलाई कटाक्ष गर्दै कुलमानलाई हटाएकोमा छाती पिटीपिटीकन रोएको टिप्पणी गरे । उनले भने-  ‘सरकारले एउटा कर्मचारी निकाल्यो, ठूलो घाटा परेछ कसैलाई, छाती पिटीपिटीकन रोएका छन्, त्यसको विधि अर्को होला नि त, संसद् पो बन्द गरेका छन् । म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरू र प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी पनि नबोल्नुस् ।’

विपक्षी दलहरुले संसद् अवरोध गरिरहने र प्रधानमन्त्रीले जवाफ नदिएमा संसद्मा विचाराधीन अध्यादेश प्रतिस्थापन विधेयक प्रभावित हुने देखिएको छ । सरकारले ल्याएका अध्यादेश प्रतिस्थापन विधेयक चैत १९ भित्र राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना जारी भइसक्नुपर्ने संविधानको व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले ती अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्न नदिन विपक्षीले संसद् अवरोध गरेको आरोप समेत लगाएका छन् । उनले भने- ‘अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा, सबै सहनुपर्ने ? उहाँहरू के–के न इस्यु पायौं भनेर बोकेर हिँड्ने ? त्यो हामीले बुझेका छौं । उहाँहरू देशलाई एक पाइला अघि बढ्न दिन चाहनुहुन्न । कानुन पास गर्न नदिन कोसिस गरिरहनुभएको छ । त्यसका विरुद्ध एउटा बहानामा संसद् अवरुद्ध गर्न खोजिएको हो, त्यो सबैलाई थाहा छ । १८ गतेभित्र अध्यादेशलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयक पारित भएनन् भने कानुन बन्दैन ।’

संसदमा जवाफ खोजेका विपक्षी दलहरुलाई प्रधानमन्त्री ओलीले बाहिरबाट नै जवाफ दिएपछि अब विपक्षी दलहरुको कदम के हुन्छ भन्ने स्पष्ट छैन । कुलमान घिसिङ पनि आफुलाई सरकारले हटाएको विषय लिएर सर्वोच्चमा गएकोले यो विषय थप पेचिलो हुने देखिएको छ ।

राजावादीहरु व्यवस्था विरोधी आन्दोलनमा होमिएको बेला गणतन्त्रवादीहरु तितर बितर हुदै एक आपसमा लडन शुरु गरेकोबाट आउदा दिनमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै