काठमाडौँ । डेढ दशकअघिको सुपरहिट फिल्म ‘खलनायक’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । २०७६ सालमै घोषणा गरिएको यो फिल्म कोरोना महामारी फैलिएपछि फिल्म बन्न सकेको थिएन । अब भने ‘खलनायक २’ निर्माण हुने भएको हो ।
यस फिल्मको निर्देशन फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तले गर्ने भएका छन् । यद्यपि, दुवै पक्षबीच कागजी सम्झौता भने भएको छैन । द्वन्द्व निर्देशनको रुपमा स्थापित चन्द्रले केही भोजपुरी फिल्म समेत निर्देशन गरिसकेका छन् ।
निर्देशक चयनसँगै शुक्रबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत पनि लिइएको छ । आगामी माघबाट छायांकन सुरु गरेर फिल्मलाई अर्को वर्षको दशैं अथवा तिहारमा रिलिज लक्ष्य राखिएको छ । एक्सन र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा अहिलेसम्म कलाकार भने निश्चित भएका छैनन् । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेकाले चाँडै कलाकार छनोट प्रक्रिया अगाडि बढ्ने निर्माता रोज राणाले जानकारी दिएका छन् ।
प्राप्त जानकारी अनुसार फिल्ममा तीनजना नायक रहनेछन् । अभिनेत्री पनि तीनजना रहन सक्ने प्रवल सम्भावना छ । खलपात्रमा भने बलिउडबाट कलाकार झिकाउने तयारीमा निर्माण टिम छ । ठूलो क्यानभासमा निर्माण गर्न लागिएको फिल्ममा दयाराम पाण्डेको गीत रचना रहनेछ ।
‘खलनायक’मा निखिल उप्रेती, विराज भट्ट र झरना थापा मुख्य भूमिकामा थिए । राजेश हमालको भने विशेष भूमिका थियो । अब ‘खलनायक २’मा उनीहरु दोहोरिन्छन् वा दोहोरिँदैनन्, त्यो दर्शकका लागि पनि चासोको विषय बनेको छ । यसबारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन ।