• २०८१ भदौ १५ शनिबार

जनचेतना अभिबृद्धिले सडक दुर्घटनामा उल्लेख्य कमी

kharibot

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यबस्थापनलाई प्रभावकारी बनाउदै सडक दुर्घटनाहरुमा कमी ल्याउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गरेका पछिल्ला गतिबिधि एवं प्रयासहरु उपलब्धुंलक भएको देखिएको छ ।

ट्राफिक प्रहरीले चालेका विभिन्न अभियान एवं जनचेतना अभिबृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा उल्लेख्य कमी आएको देखिन्छ । गत बर्षको तुलनामा जनचेतनामुलक कार्यक्रमको प्रभाव र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटनामा परि मृत्यू हुनेको संख्यामा उल्लेख्य कमी आउनुका साथै घाइतेहरुको संख्यामा समेत कमि आएको देखिन्छ ।

गत आ.ब.०८९/८० मा भएका १०,६७५ सडक दुर्घटनामा परि १८७ जनाले मृत्यूवरण गर्नु परेको थियो भने यस आ.ब. ०८०/८१ मा भएका ८८८१ सवारी दुर्घटना (गत बर्ष भन्दा १६.८ % कम) मा परि १७६ जनाको मृत्यू भएको हो जुन गत बर्षको तुलनामा ६ % ले मृत्यू कमी भएको छ । साना ठुला दुर्घटनामा परि गत बर्ष भन्दा यस बर्ष ३ प्रतिशत (८३०५जना) घाइते भएको तथ्याङ्कले देखाउँछ ।

ट्राफिक प्रहरीका अनुसार, यो प्रगति ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामुलक कार्यक्रम र नियमहरुको कडाईका साथ पालनाको प्रतिफल हो । यो सुधारलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भैरहेको जनाएको छ । यसले भविष्यमा पनि दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरण गर्न र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिएको छ । थप सुधार गर्न र यसलाई निरन्तरता दिन ट्राफिक प्रहरीले थप योजनाहरु निर्माण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक बिश्व राज खड्काले जनचेतनामुलक कार्यक्रमहरुले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको बताए । थप उल्लेख गर्दै उनले सडक सुरक्षा र ट्राफिक नियमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्नका लागि हामीले निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यसले सर्वसाधारणलाई जिम्मेवार चालक बन्न र दुर्घटना घटाउन ठूलो भूमिका खेलेको प्रष्टाए ।

पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामुलक अभिबृद्धि कार्यक्रमलाई बिशेष महत्व दिई सञ्चालन गर्दै आएको छ । विशेष गरी स्कूल कलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक सह-चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु व्यापक रुपमा गर्दै आएकोछ । ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री बिशेष अभियान, ट्राफिक सचेतना बिशेष अभियान जस्ता कार्यक्रमहरुमा समावेश भएका ट्राफिक गतिबिधीहरु मार्फत ४,७७,३०३ जना प्रत्यक्ष लाभान्वित भए भने सडकको सुरक्षित प्रयोगमा समेत उल्लेख्य सुधार भएको पछिल्ला दुर्घटनाको तथ्याङ्कले समेत देखाएको छ ।

तुलनात्मक रुपमा उपत्यकाको आवागमन व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले आफ्नो उपस्थिति, सक्रियता र निगरानी सँगसँगै बढाएको देखिन्छ । ट्राफिक प्रहरीको उपस्थितिले धेरै सवारी चालकहरु ट्राफिक नियमहरुको पालना गर्न बाध्य भएका छन् । ट्राफिक प्रहरीले चालेको मादक पदार्थ र लागु पदार्थ सेवन गरि सवारी चलाउने बिरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहिका साथ सवारी चलाउने र तिब्रगतिका कारणले हुने दुर्घटना न्यूनिकरणमा निर्वाह गरेको भूमिका निकै तारिफ योग्य छन् ।

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम संचालन, ट्राफिक चेक पोइन्ट बिस्तार, भित्रीगल्ली साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती गर्ने गरेका छौं, र अपेक्षाकृत उपलब्धी समेत हासिल गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । "सडकमा ट्राफिक नियमको पालना गराउनु हाम्रो मुख्य उद्देश्य हो । यस बर्षको सक्रियता र कठोर कदमहरुले दुर्घटनामा कमी ल्याउन ठूलो सहयोग पुर्याएको छ । यसलाई हामी निरन्तरता दिन्छौं र थप सक्रियता पुर्वक अघि बढ्छौं" एसएसपी श्रेष्ठले बताए ।

यस आर्थिक बर्षमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाख बढिलाई ट्राफिक प्रहरीले कारवाही गरि जरिवाना बापत रू.७२ करोड ६० लाख संकलन भएको छ ।

प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण जस्तो महत्वपूर्ण बिषय ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सम्पुर्ण सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा र ट्राफिक नियम पालनालाई संस्कारको रुपमा बिकास गर्न ट्राफिक प्रहरीले अपिल समेत गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै