• २०८१ बैशाख ११ मंगलबार

ट्रम्प र किमबीच पहिलो पटक भेट, दुवै नेताबीच भेटवार्ता सुरु 

kharibot

सिंगापुर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता सुरु भएको छ । 

अहिले दुवै नेता सिंगापुरको सेंटोसा आइल्याण्डको क्यापेला होटलमा पुगेर भेटवार्ता सुरु गरेका छन् । 

उत्तर कोरियाली सर्वोच्च नेता किमले कुनै पनि अमेरिकी राष्ट्रपतिलाई भेटेको यो पहिलो पटक हो । 

शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि नै विश्वका मिडियाले उनको समाचारलाई बडो प्राथमिकता दिएका थिए । त्यसपछि उनी सिङ्गापुर पुगेपछि यो ठूलो समाचार बनेको छ । 

यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । ती सञ्चारले उनी कहाँ बसेका छन् भन्नेदेखि लिएर उनले आइतबार सिङ्गापुरका राष्ट्रपतिसँग भेटवार्ता गर्नेसम्मको अवस्थालाई आफ्ना क्यामेरामा कैँद गर्न निकै चासो देखाएका बताइएको छ । 

त्यसैगरी यस वार्ताका अर्का प्रमुख पात्रका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परेका छन् । उनी पनि आइतबार नै सिङ्गापुर पुगेका हुन् । 

उनीहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताएको एजेण्डा भने आएको छैन । 

यही नै प्रमुख मुद्दा हुनेछ भन्ने अनुमान धेरैलाई छ । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्तिका लागि ‘एक पटकको प्रयास’भनेका छन् । पहिलो प्रयासले नै धेरै कुरा देखाउने उनको पहिल्यै देखिको भनाई रही आएको छ । 

कोरियाली प्रायद्वीपमा हाल युद्धविराम छ । लामो समयदेखि घोषणा गरिएको यो युद्धविरामलाई दिगो रुपमा नै शान्तिमा परिणत गर्ने प्रयत्न अमेरिकाको हुने पनि उहाँको भनाई रही आएको छ । 

दुई नेतालाई फरक होटलमा राखिएको छ भने उनीहरुको बसाई वरिपरिको सुरक्षा नगरको अरु क्षेत्रको भन्दा थप र निकै नै कडा पारिएको अधिकारीहरुले बताएका छन् । 

उनीहरुबीचको महत्वपूर्ण शिखर वार्ता जुन १२ अर्थात् भोलि मङ्गलबार हुनेछ । वार्ताको सम्पूर्ण तयारी पूरा भएको सिङ्गापुर, अमेरिका र उत्तर कोरियाले बताएका छन् । 

उत्तर कोरियाको ‘सिङ्गापुर एजेण्डा’ तयार 

यसैबीच यस शिखर वार्ताका लागि उत्तर कोरियाले ‘सिङ्गापुर एजेण्डा’ तयार पारिएको जनाएको छ । तर सो एजेण्डामा के छ भन्ने बारेमा भने उसले केही बताएको छैन । 
तर सो एजेण्डामा विशेषतः उत्तर कोरियाले गर्दै आएको आणविक क्षेप्यास्त्रको उत्पादन र यसको परीक्षणको बारेमा समेटिएको बताइएको छ । 

साथै विश्व समुदायबाट कूटनीतिक तथा अन्य हिसाबले पनि एक्लिएको उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघसँग पनि केही गुनासोहरु वा उसमाथि लगाइएको नाकाबन्दी खोल्ने विषयमा पनि केही मागहरु राख्न सक्ने अनुमान विश्लेषकहरुको छ । 

तर यस विषयमा अमेरिका वा उत्तर कोरियाले पनि केही नबताएको त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ । 

वार्ताको खर्च डेढ सय करोड :

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार सिङ्गापुरले आयोजना गरेको यस बैठकका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको सिङ्गापुरले जनाएको छ । 

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले आइतबार मात्र उक्त खर्चको बारेमा जानकारी दिँदै सो कुरा बताए । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यही मङ्गलबार हुने शिखर वार्ताका लागि सिङ्गापुरले एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले सुनाए । 

खर्चको करिब पचास प्रतिशत त सुरक्षा प्रबन्धमा नै लगाइएको उनले भने । उनले सिङ्गापुरले शान्तिका लागि आफ्नो देशले प्रयत्न गरेको तर यहाँको खर्चको विवरणका लागि निकै चासोका साथ प्रश्नहरु उठेकोले मा उक्त खर्चको कुरा गरेको हो भने । 

सकारात्मक प्रयासः विश्व समुदाय 

यसैबीच सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको यस शिखर वार्ता निकै नै सकारात्क प्रयास भएको विश्व समुदायले प्रतिक्रिया दिएको छ । 

विश्व समुदायले यस प्रयासबाट विश्वमा शान्ति स्थापना होस् भन्ने कामना पनि गरेको छ । आणविक अस्त्रको होडभन्दा यसरी वार्तामा बसेर सकारात्मक रुपमा आफ्ना विचार राख्नुले विश्वमा नै शान्ति र सौहार्दताको सन्देश जाने उनीहरुको ठहर छ । 

यस वार्ताले कोरियाली प्रायद्धीप, एसिया तथा यतिमात्र नभएर सिंगो विश्वमा नै शान्ति स्थापनाको मार्ग खोल्न सकोस भन्ने कामना पनि विश्वका नेताहरु, विभिन्न संघ संस्था र देशले गरेका छन् ।

ट्रम्प आजै अमेरिका फर्किने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजै अमेरिका फर्किने भएका छन् । 

ट्रम्प अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ । 

सामूहिक भेटवार्तापछि उहाँहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै