• २०८१ बैशाख ८ शनिबार

गण्डकी प्रदेश- नीति तथा कार्यक्रममाथि छलफल जारी

kharibot

गण्डकी । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । मङ्गलबारदेखि सुरु भएको छलफलमा आज पनि प्रदेशसभा सदस्यले आफ्नो धारणा राखे । 

आजको प्रदेशसभा बैठकमा बोल्ने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको औँल्याए भने विपक्षी दलका सदस्यले नीति तथा कार्यक्रम महत्वकाङ्क्षी रहेको भन्दै कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरे । 

नेपाली कांग्रेसका चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले गण्डकी प्रदेशको विकास, समृद्धि र सुशासनको खाका तयार गरेको बताए । उनले प्रदेशप्रतिको जिम्मेवारी र दायित्वबोध गर्दै सरकारले नागरिकमैत्री कार्यक्रम ल्याइएको उल्लेख गरे । 

नेकपा (एमाले)का भीमबहादुर कार्कीले तथ्याङ्कमा आधारित वस्तुनिष्ठ कार्यक्रम आउन नसकेको बताए । उनले छरिएर आएको नीति तथा कार्यक्रमले गन्तव्य पहिल्याउन नसकेको धारणा राखे । 

नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले प्रदेशका सबैखाले आवश्यकतालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए । उनले प्रेदश सरकारको औचित्यमाथि प्रश्न उठिरहेका बेला जनआकाङ्क्षा पूरा गर्ने खालको बजेट र कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे । 

वैज्ञानिक अध्ययन गरेर मात्र नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने उनले बताए ।  प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले नागरिकले महसुस गर्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए । नागरिकलाई दुःखसुखको साथी प्रदेश सरकार हो भन्ने अनुभूति दिलाउनुपर्ने उनले बताए । 

‘समन्नुत गण्डकी प्रदेश, सम्मानित प्रदेशवासी’ आदर्श वाक्यको व्यावहारिक कार्यान्वयन हुने गरी बजेटमा सम्बोधन हुनुपर्ने उनले उल्लेख  गरे । प्रदेशसभा सदस्य विकल शेरचनले सरकारले लोककल्याणकारी कार्यक्रम घोषणा गरेको बताए । उनले नीति तथा कार्यक्रमले समृद्ध प्रदेशको दिशाबोध गरेको धारणा राखे । 

नेकपा (एमाले)का रोशनबहादुर गाहा थापाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत र विधि स्पष्ट नभएको बताए । उनले महत्वकाङ्क्षी र एकाङ्की खालका कार्यक्रम समेटिएकाले कार्यान्वयन हुनेमा विश्वास गर्न नसकिने उल्लेख गरे । 

प्रदेशसभा सदस्य पद्ममा जिसी श्रेष्ठले सरकारले ठोस, मूर्त र जनमुखी कार्यक्रम ल्याउन नसकेको बताए । कतिपय आवधिक योजनाका कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रमले विद्यमान समस्याको समाधान दिन नसक्ने प्रदेशसभा सदस्य श्रेष्ठले उल्लेख गरे । 

प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले नीति तथा कार्यक्रम राम्रो आए पनि बजेटले कसरी समेट्छ भन्ने विषय महत्वपूर्ण हुने बताए । उनले स्रोत पहिचान नगरी अमूर्त ढङ्गले नीति तथा कार्यक्रम तुर्जमा गरिएको धारणा राखे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । उनले स्रोतमा आधारित रहेर यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिए । 

प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य प्रकाश बराल, डिल्लीराम सुवेदीलगायत २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए ।

बिहीबारको बैठकमा थप छलफलपछि पारितका लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस हुने जनाइएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै