• २०८१ बैशाख ८ शनिबार

विश्व टेस्ट च्याम्पियनसिप– भारतले टस जित्यो, पहिला फिल्डिङ गर्ने

kharibot

काठमाडौं । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेको छ । इंग्ल्यान्डको द ओभलमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । 

भारतले आजको खेलमा चार तीव्र गतिका बलरलाई मैदान उतार्दा स्पिनरमा रविन्द्र जडेजालाई मात्रै मैदान उतारेको छ । पिच तीव्र गतिका बलर सहयोगी हुँदा भारतले चार प्रमुख तीव्र गतिका बलर खेलाउने निर्णय लिएको हो ।

विश्व टेस्ट च्याम्पियनसिप २०१९ बाट सुरु भएको थियो । पहिलो फाइनल २०२१ मा भारत र न्युजिल्यान्डबीच इङ्ल्यान्डमा भएको थियो । उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०२१ देखि सुरु हुने दोस्रो च्याम्पियनसिपमा भारत र अष्ट्रेलिया तालिकाको शीर्ष दुई टोली बनेका छन् । त्यसैले उनीहरुबीच दोस्रो फाइनल खेल हुँदैछ ।

विश्व टेस्ट च्याम्पियन्सिपको पहिलो फाइनल पनि इंग्ल्याण्डमा भएको थियो भने २०२५ को फाइनल पनि इंग्ल्याण्डमा नै हुनेछ । सन् २०२१ मा साउथह्याम्पटनमा च्याम्पियनसिपका लागि भारत र न्युजिल्याण्ड भिडिएका थिए । त्यसैगरी, २०२५ मा च्याम्पियनसिपको तेस्रो फाइनल लण्डनको लर्ड्स मैदानमा खेलिनेछ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक पटक डब्ल्यूटीसी फाइनल किन इंग्ल्याण्डमा आयोजना गर्दै आएको छ भन्ने प्रश्न उठ्छ । आइसीसीले विश्व क्रिकेटका दर्शकका लागि उपयुक्त समय मिल्ने, टेस्ट क्रिकेट हेर्ने दर्शक बढी इङल्याण्डमै हुनु तथा  यहाँको मौसमका कारण पनि टेस्टका ठुला प्रतियोगिता इङल्याण्डमा गरिरहेको बुझिएको छ ।

विश्व टेस्ट च्याम्पियन्सिप ड्र वा टाई भएमा भारत र अस्ट्रेलियालाई संयुक्त रुपमा विजेता घोषित गरिने छ । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल खेलमा एक दिन रिजर्भ डे को रुपमा राखिएको छ । यदि खेलको पाँच दिनमा कुनै पनि पुरै एक दिन खेल हुन नसक्ने अवस्था आएमा रिजर्भ डेको प्रयोग गरिने छ । विश्व टेस्ट च्याम्पियन्सिप हुने यी पाँच दिनमध्ये शुरुका तीन दिन र पाँचौं दिन मौसम सफा रहने र चौथो दिन वर्षा हुनसक्ने अनुमान गरिएको छ । 

फाइनल खेलका लागि अस्ट्रेलियाका तिब्रगतिका बलर जोश हजेलवूड खेलबाट बाहिर भएका छन् । उनको स्थानमा माइकल नेसरलाई टिममा समावेश गरिएको छ । त्यस्तै भारतीय टिममा जसप्रित बुमराह, ऋषव पन्त, श्रेयस अय्यर र केएल राहुल जस्ता खेलाडी घाइते भएर बाहिर छन् । 

विश्व टेस्ट च्याम्पियन्सिप जित्ने टिमलाई १.६ मिलियन डलर नगद पुरस्कार रहेको छ भने उपविजेताले ८ लाख डलर पुरस्कार पाउने छ । साथै २०२१ देखि २०२३ सम्म विश्व टेस्ट च्याम्पियन्सिप खेलेका ९ देशबीच आइसीसीले कुल ३.८ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने जनाएको छ । 

अष्ट्रेलियाको प्लेइङ ११:
डेविड वार्नर, उस्मान खवाजा, मार्नस लाबुसेन, स्टिभ स्मिथ, ट्रविस हेड, क्यामरन ग्रीन, एलेक्स केरी, मिचेल स्टार्क, प्याट कमिन्स(कप्तान), नाथन लायन र स्कट बोलान्ड ।

भारतको प्लेइङ ११:
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, केएस भरत(विकेटकिपर), अजिक्या रहाणे, शार्दुल ठाकुर, उमेश यादव, मोहम्मद शामी र मोहम्मद शिराज ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै