• २०८१ बैशाख ८ शनिबार

चलचित्रमा हास्य विधालाई दर्शकले रुचाए

kharibot

काठमाडौँ । नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् । 

गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यङ्ग्य शैलीमा निर्माण हुनेकै सङ्ख्या बढी छ । यसको उदाहरण ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हुन् । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । 

‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् । 

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल छन् । उनीहरुको चलचित्र हेर्न दर्शकको राम्रै भीड देखिन्छ । 

“बक्सअफिसलाई हेर्दासमेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चस्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ”, निर्देशक प्रदीप भट्टराईले भने । 

हास्यकलाकार किरण केसीका अनुसार हाँस्दा मस्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मुड ठीक गर्न मद्दत गर्छ । मुड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु ।

मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ । यी यस्तै कारणले हास्य विधालाई दर्शकले प्राथमिकतामा राखेको हुन सक्छ ।

“हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो”, हास्य कलाकार केसीले भन्नुभयो, “हाम्रो कामले एकै छिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन् ।”

चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्यकलाकारको काम नै हसाउने हुन्थ्यो तर अहिले हास्यकलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ ।

यद्यपि सचेत हुनुपर्ने अवस्था पनि रहेको निर्देशक भट्टराईको भनाइ थियो । उनले भने, “दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनुहुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै