• २०८१ बैशाख १२ बुधबार

निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण सकियो

kharibot

म्याग्दी । म्याग्दीको नारच्याङ स्थित निलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

अन्नपूर्ण र निलगिरि हिमालबाट बगेर आउने निलगिरि खोलामा ३८ मेगावाट क्षमताको निलगिरि पहिलो र ७१ मेगावाट क्षमताको निलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६ देखि शुरु भएको दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी निलगिरि हाइड्रोपावरले ८० प्रतिशत संरचना निर्माणको काम सकिएको जनाएको छ ।

सुरुङ, विद्युतगृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भैरहेको छ । भौतिक संरचनालाई अन्तिम रुप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छन् । निलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भैरहेको छ ।

पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिए । निलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । निलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ ।

क्यासकेडको विद्युतगृह दोभानदेखि निलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाड र विकट क्षेत्रमा दुई वर्ष लगाएर १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको थियो ।  आगामी ६ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठुलो आयोजना हो । पहाडको खोचमा आयोजनाका संरचनाहरू निर्माण भएका छन् । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् ।

निलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सब स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हुँदै दाना सब–स्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै