• २०८१ बैशाख ४ मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रतिवादीको न्यायाधीशसमक्ष बयान हुदै

kharibot

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो ।

१४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ ।

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरिसकेको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो । 

मुद्धा दायर गरिएकाहरुमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीलगायत १६ जना रहेका छन् । 

त्यस्तै प्रहरीले मुद्धा दायर गरेका १४ जना भने फरार रहेका छन । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापाका पुत्र प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाई, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकी रहेका छन् । उनीहरुविरुद्ध ठगीको मुद्दा चलाइएको छ । 

अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै