• २०८१ बैशाख ७ शुक्रबार

रेशम चौधरीलाई माफी दिने तयारीमा सरकार

kharibot

काठमाडौं । सरकारले हाल कारागारमा रहेका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको बाँकी सजाय माफी दिने प्रक्रिया सरका ले अगाडी बढाएको हो ।

गृह स्रोतका अनुसार चौधरीको बाँकी सजाय माफी दिने पत्र गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।

यस अघि सरकारले चौधरीको मुद्धा फिर्ता लिने तयारी गरेपनि जेठ १ गते चौधरीसहित टीकापुर घटनाका केही अभियुक्तहरुको सजाय सदर गर्ने फैसला सुनाएपछि सो बाटो बन्द भएको थियो । 

सरकारले चौधरीलाई छुटाउने अन्य विकल्प सकिएपछि बाँकी कैद माफी दिने प्रक्रिया अगाडी बढाएको हो । सरकारले आगामी गणतन्त्र दिवसका दिन उनलाई राष्ट्रपतिबाट माफी दिने तयारी गर्दै प्रक्रिया अगाडी बढाइसकेको छ । 

नेपालको संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था रहेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

२०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीले पाएको जन्मकैदको सजाय अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । अब सरकारले सजाय मिनाहाको प्रक्रिया अगाडी बढाएर यो कार्यान्वयन भएमा उनको करिब १४ बर्ष ९ महिनाको सजाय माफी हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै