• २०८१ बैशाख ८ शनिबार

व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ- उपराष्ट्रपति यादव

kharibot

काठमाडौँ  । उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन ।

साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज भएको भेटमा उनले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या समाधानमा सरकार लाग्ने बताएका हुन् ।

“राष्ट्रपति ज्यूले भर्खरै संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले व्यवसायीको समस्या समाधान गर्ने विश्वास मैले लिएको छु, आउने बजेटले व्यवसायीको समस्या समाधान हुन्छ”, उपराष्ट्रपति यादवले भने । व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण व्यवसायी आफ्नो व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले महँगो घरभाडा, चर्को भन्सार दरबन्दी, विविध शीर्षकमा चर्को कर, कच्चापदार्थको अभाव, दक्ष जनशक्तिको अभाव, कारोबारमा मन्दीलगायतले व्यवसायी मारमा परेको बताए ।

भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठ, सल्लाहकार सरोज थापा, उपाध्यक्ष सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, महासचिव रत्नबहादुर घिमिरे, कोषाध्यक्ष गणेशकुमार न्यौपाने, सदस्य देवराज कार्कीलगायत महासङ्घका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै