Skip This
  • २०८० मङ्सिर १८ सोमबार

संस्कृति जोगाउँदै समाज घर

kharibot

अन्नपूर्ण (कास्की) ।  विभिन्न अवसर र सुविधाको खोजीमा गाउँ छाडी सहर पस्ने धेरै लछन् । गाउँमा भएको सबैथोक त्यागेर सहर पस्नेले गाउँको संस्कार, संस्कृति, भाषा भने लिएर आएका हुन्छन् । सहरमा उनीहरु त्यसलाई सहरमा देखाउन चाहन्छन् । यसका लागि गतिलो माध्यम बनेको छ, ‘समाज घर’ ।

विभिन्न गाउँबाट पोखरा झरेकाहरुले यहाँ आ–आफ्नो सहरमा समाज घर बनाएका छन् । यस्ता समाजघरमार्फत संस्कार, संस्कृति, भाषा जोगाउन ध्यान दिइएको पाइन्छ । हिजो बुद्ध पूर्णिमाका दिन पोखराका गुरुङ समाजघरमा घाटु नृत्य देखाइयो । पोखरा महानगरपालिका–१४ काजीपोखरीस्थित पोंचोकों तमु परिवार पोखरामा पनि दिनभर घाटु नाच प्रस्तुत भयो । 

समाजघरमा घाटुसरीहरु दिनभर व्यस्त हुनुभयो । टाउकोमा लाया (घाटुका लागि धानको लाभाबाट बनाएको टोपी) र बिर्कोट (लायालाई अड्याउन बनाइएको कपडा) लगाएका बालिका निदाएकै आभाषमा गुरुबाको स्वरसँगै हाउभाउ मिलाएका देखिन्थे । यहाँ शुक्रबारदेखि सुरु भएको नाच पाँच दिनसम्म चल्छ । 

लमजुङको घनपोखरा र उत्तरगङ्गा घर भएका गुरुङ समुदाय पोखरा घाटु नृत्य जोगाउन विसं २०६२ देखि नै तल्लीन छन् । श्रीपञ्चमीदेखि सुरु घाटु वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीका समयमा सक्ने (सेलाउने) पोंचोकों तमु परिवार पोखराका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए । 

“पोखरा बस्ने घनपोखरा र उत्तरगङ्गाका स्थानीयहरु २०६२ सालदेखि नै खटिएका छौँ”, अध्यक्ष राजकुमारले भने, “हामीले सुरु गरेपछि अन्य समाजघरले पनि सुरु गर्नुभएको छ । समाजघरको माध्यमबाट पोखरामा घाटु देखाउने सम्भवतः हामी पहिलो हौँ ।”

नयाँ घाटुसरी (घाटु नाच्ने बालिका) छनोट गर्ने बेला रजस्वला नभएका, घाउचोट नलागेका र कपालसमेत नकाटेका बालिकालाई राखेर गीत गाउने प्रचलन रहेको पूर्वघाटुसरी बिनकुमारी गुरुङले बताइन् । 

जुन बालिकालाई घाटुले ‘छोप्छ’, तीमध्ये दुईजनालाई घाटुसरीका लागि छानेर श्रीपञ्चमीदेखि बुद्धपूर्णिमासम्म अभ्यास गराइने बिनकुमारीले सुनाइन् । उमेरले ६२ वर्ष लागेकी बिनकुमारीले घाटु जोगाउन पोंचोकों तमु परिवारमा सुरुदेखि नै लागिपरेको बताइन् । “हाम्रो संस्कृति हराएर जान्छ कि भन्ने साह्रै चिन्ता लाग्छ”, बिनकुमारीले भनिन्, “सुरुमा हामी पहिलेदेखि नै नाच्नेहरु नाच्यौ, अहिले निशा गुरुङ र शीतल गुरुङलाई तयार गरेका छौँ ।”

निशा र शीतललाई घाटुसरी बनाउन निकै सङ्घर्ष गर्नुपरेको बिनकुमारीले बताइन् । अहिलेको युवती नाच्न रुचि नगर्ने कारण घाटुसरी पाउनै समस्या रहेको उनले सुनाइन् । “घाटुरसीहरु पाउनै गाह्रो छ । अनि यिनीहरुलाई माग्न जाँदा बुहारी माग्न जाँदा जस्तै हो”, उनले भनिन्, “नाच्ने जस्तो लागेपछि फलफूल र रक्सी लिएर तपाईंको छोरी हामीलाई घाटुसरी बनाउन दिनुस् भनेर माग्नुपर्छ अनि लौ ठीकै छ लैजानुस् भनेर दिएपछि ल्याउने हो ।” 

बाह्रमासे, कुसुण्डा र सती गरी तीन प्रकारका घाटुमध्ये यहाँ देखाइको बाह्रमासे घाटु हो । यसमा दुई बालिकामध्ये एकलाई राजा र एकलाई रानीको भेषमा सजाएर वनमा सिकार, राजारानीको विवाह, प्रेम, पुत्रलाभ, युद्धमा राजाको मृत्यु र रानी सती गएको प्रसङ्ग गीतमार्फत प्रस्तुत गरिन्छ । 

नाच सुरु हुने अघिल्लो दिन राति सामूहिक दर खाएपछि उपवास बस्ने चलन रहेको घाटुका गुरुबा जीवराम गुरुङले बताए । गाउने–बजाउने, नाच्ने गुरु, सुसारे र घाटुसरी भोलिपल्ट दिनभर फलफूल मात्र खान्छन् । “घाटुमा ठूलो शक्ति हुन्छ, त्यसैले यसलाई हामी जुनसुकै बेला गाउने, बजाउने र नाच्ने गर्दैनौँ”, जीवरामले भने । तर, यो विशिष्ट परम्परामा युवाहरूको रुचि घट्दै जानु चिन्ताको विषय भएको उनी बताउछन् । बाह्रमासे घाटु विशेषगरी तीन वर्षसम्म नाचिन्छ । नयाँ घाटुसरीहरु तीन वर्षसम्म नाचेर सेलाएपछि ती घाटुसरीहरु अरू ठाउँमा नाच्न पाउने जीवरामले बताए । 

“नयाँ घाटुहरु आएपछि तीन वर्षसम्म नचाउनुपर्छ अनि सेलाइन्छ, अहिले नाचेका शीतल र निसाको यो वर्ष सेलाउने हो”, उनले भने, “अब केही वर्ष उनीहरुले नै धान्छन् अनि नयाँ खोज्नुपर्ला तर नाच्न इच्छा गर्ने भेट्नै गाह्रो छ ।” गाउने गुरुबाहरु पनि तयार गर्न समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताहरुले घाटुमा वास्तै नगरेका कारण अबको पुस्ताले के गर्छ भन्ने गुरुङको चिन्ता छ । 

बाह्रमासे घाटुमा नाच्ने घाटुसरीले लगाउने बिर्कोट पनि पाउन गाह्रो रहेको जीवरामले सुनाए । “अहिले उनीहरुले लगाएको बिर्कोट पनि गुरुहरुले पञ्चासेतिरबाट खोजेर ल्याउनु भएको रहेछ”, जीवरामले भने, “जस्तो पायो उस्तै धागोको बनाएर हुँदैन । यो बनाउने छुट्टै तरिका छ । अब नयाँ घाटुसरी तयार गर्दा बिर्कोट कताबाट ल्याउने भन्ने चिन्ता छ ।”
घाटु नाच सुरु हुनुभन्दाअघि गुरुले पूजा गरेपछि राजा घाटुसरीलाई रातो र रानीलाई कालो बिर्कोट दिइन्छ । गुरुबाहरुले पूजा गरेर दिइने बिर्कोटमा विशेष शक्ति हुने जीवरालेले जानकारी दिए । विर्कोट लगाएपछि घाटुसरीलाई देवता चढ्ने विश्वास छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै