• २०८१ बैशाख ४ मंगलबार

आजदेखि शुरु हुदैछ आइपिएल, यी नयाँ नियम लागु हुदै

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १६औं सिजन आजदेखि सुरु हुँदैछ । उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । जसमा मुम्बई इण्डियन्स, चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, कोलकोता नाइटराइडर्स, पञ्जाव किंग्स गुजरात टाइटन्स, लखनउ सुपरजाइन्ट र रोयल च्यालेन्जर्स बैंगलोर रहेका छन् ।           

मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आइपिएलका सबैभन्दा सफल दुई टोली हुन् ।

मुम्बईले अहिलेसम्म पाँच पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले २०१३.  २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । त्यस्तै चेन्नईले २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो ।

त्यसैगरी कोलकोता नाइट राइडर्सले २०१२ र २०१४ मा आइपिएल जितेको थियो । त्यसति राजस्थान रोयल्सले २००८, डेकन चार्जरले २००९, सनराइजर्स हैदरवादले २०१६ र गुजरात टाइटन्सले २०२२ को आइपिएल उपाधि जितेका थिए ।        

दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यस्तै दोस्रो सिजन खेल्न लागेको लखनऊ सुपरजायन्ट्स पनि उपाधि विहिन रहेको छ ।

आइपिएलमा नयाँ नियम लागु हुदै 

टिमले अब टसमा ब्याटिङ गर्ने वा बलिङ गर्ने भन्ने निर्णय गरेपछि प्लेइङ–११ छनोट गर्न पाउने भएका छन् । टसपछि टोलीले ४ प्रभावशाली खेलाडीको नाम पनि तोक्नुपर्ने छ । यी बाहेक आईपीएलको १६औं सिजनमा नियममा परिवर्तनसँगै नयाँ नियम पनि थपिएको छ ।

कप्तानले २ प्लेइङ–११ लिएर टसमा आउने

आईपीएल खेलमा अब दुबै टोलीका कप्तानले टसको समयमा २ टोली ल्याउन सक्नेछन् । टसपछि कप्तानले ब्याटिङ वा बलिङ पहिले गर्ने थाहा पाएपछि त्यही अनुसार प्लेइङ–११ छनोट गर्न सक्नेछन् । यसअघि १५ सिजनका लागि टिमले टसको समयमा एउटै प्लेइङ–११ ल्याउँदै आएका थिए । टसपछि पनि एउटै टोलीसँग खेल्नुपर्ने थियो, तर अब त्यस्तो हुने छैन ।

टस पछि ४ खेलाडीलाई इम्प्याक्ट प्लेयर तोक्नुपर्ने 

यस सिजनबाट आईपीएलमा नयाँ प्रभावशाली खेलाडीको नियम पनि थपिने भएको छ । दुवै टोलीले टसपछि ४–४ प्रभावशाली खेलाडीको नाम तोक्नुपर्नेछ । यी ४ प्रभावशाली खेलाडीमध्ये टोलीले खेल अवधिभर कुनै एक खेलाडीलाई प्लेइङ–११ मा समावेश भएका खेलाडीलाई रिप्लेस गर्न सक्नेछन् । खेलको दुवै इनिङ्समा खेलाडीले १४ ओभरको 'इम्प्याक्ट प्लेयर नियम' प्रयोग गरी खेलाडी बदल्न सक्नेछन् ।

एक टोलीले सम्पूर्ण खेलमा एक पटक मात्र प्रभाव खेलाडी प्रयोग गर्न सक्षम हुनेछ । उसले चाहेमा पहिलो इनिङ्सको १४ ओभरसम्म वा दोस्रो इनिङ्सको १४औं ओभरसम्म रिप्लेसमेन्ट लिन सक्छ ।

इम्प्याक्ट खेलाडीले पूरा ४ ओभर बलिङ गर्न सक्ने 

टोलीले खेलमा ब्याटिङ वा बलिङ गरेका खेलाडीलाई पनि बदल्न सक्नेछन् । प्रभावशाली खेलाडीले आफ्नो कोटाको पूरा चार ओभर बलिङ गर्न पाउनेछ । साथै, उसले इनिङ्समा जति ओभर बाँकी छन्, त्यति नै ओभर ब्याटिङ गर्न सक्नेछन् । तर, एक इनिङ्समा एक टोलीको अधिकतम १० विकेट मात्रै खस्न सक्नेछ ।

दक्षिण अफ्रिकी टी-२० बाट ल्याइयो यो नियम

आईपीएलमा टसपछि टिमलाई रिलिज गर्ने नियम दक्षिण अफ्रिकाको टी–२० लिग जस्तै छ । त्यहाँ पहिलो टसपछि टोली घोषणा गर्ने नियम सुरु भएको थियो । उक्त नियममा दुवै टोलीका कप्तानले टसअघि १३ खेलाडीको नाम राख्नुपर्ने थियो र टस लगत्तै ब्याटिङ वा बलिङ गर्दा कप्तानले कुनै पनि २ खेलाडीलाई हटाउन सक्ने थियो ।
आईपीएलमा यो नियम लागु भएसँगै अब टसको प्रभाव समाप्त हुने देखिएको छ ।

आईपीएलमा पनि टसको असर हटाउने उद्देश्यले यो नियम ल्याइएको बताइएको छ । पछिल्लो पटक २०१९ मा आईपीएल होम एण्ड अवे ढाँचामा भएको थियो । त्यसपछि ६० खेलमध्ये ३४ खेल टस जित्ने टोलीले जितेका थिए । टस हारेका टोलीले २३ खेल जितेका थिए भने बाँकी खेल सुपर ओभरमा गएका थिए वा वर्षा वा अन्य कुनै कारणले निष्कर्षविहीन थिए ।

आईपीएलमा परिवर्तन भएका नियम: 

१- सबै टोलीलाई इनिङ्सको २० ओभर पूरा गर्न ७५ मिनेट दिइएको छ । यो समयमा ओभर पुरा नभएमा ५ को सट्टा ४ फिल्डर मात्र बाँकी ओभरको ३० गजको घेरा बाहिर बस्न सक्नेछन् ।

२- यदि विकेट किपर वा फिल्डरले बलिङको क्रममा गलत तरिकाले मुभमेन्ट गर्यो भने, त्यो बललाई डेड बल भनिन्छ । यससँगै फिल्डिङ गर्ने टोलीलाई ५ रनको पेनाल्टी पनि लगाइनेछ । गलत चाल अर्थात् बलिङको समयमा फिल्डरले कुनै पनि काम गर्नु जसले ब्याटरको ध्यान विचलित हुन्छ वा फिल्डरले बलिङ गर्नु अघि उसको फिल्डिङ स्थिति परिवर्तन गरेमा यो नियम लागु हुने बताइएको छ ।

वास्तवमा आईसीसीले गत वर्ष टी–२० र एकदिवसीयको प्लेइङ कन्डिसनमा केही परिवर्तन गरेको थियो । जुन अक्टोबर १, २०२२ देखि लागू भएको थियो । यी नियमहरू अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुन थाले । तर यो नियम आईपीएलमा पहिलो पटक लागू हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै