• २०८१ बैशाख ७ शुक्रबार

टियु मैदानमा भिआइपी दीर्घामा बसेर क्रिकेट हेर्ने नेताहरुमा समर्पित...

kharibot

काठमाडौँ । विहिबार नेपाली क्रिकेटले इतिहास लेखेको दिन । नेपाल एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट भएको दिन । १२ खेलमा ११ खेल जितेर चमत्कारिक प्रदर्शन गर्दै नेपालले क्रिकेटमा नयाँ अध्याय शुरु गरेको दिन ।  विहिबार किर्तिपुरस्थित टियु मैदान यो इतिहासको साक्षी बन्यो । खेलाडीले अहिलेसम्मकै राम्रो प्रदर्शन गरे र क्रिकेट समर्थकले पनि अहिलेसम्मकै सबैभन्दा बढी माया देखाए । 

विश्व क्रिकेटसँग तुलना गर्दा पनि नेपाली क्रिकेट समर्थकको अलग पहिचान रहेको छ ।  क्रिकेट समर्थककै कारणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाली क्रिकेटलाई विशेष किसिम हेर्ने गरेको स्पष्ट नै छ । पटक पटक क्यान विवादमा आउदा, क्यानका पदाधिकारीले बदमासी गर्दा होस् आइसीसीले कहिल्लै नेपाली क्रिकेटलाई रोकेको छैन ।  यसको कारण भनेकै क्रिकेटका समर्थक हुन् । जुन कुराको प्रमाण विहिबार क्रिकेटका समर्थकले देखाइदिएका छन् । 

तर दुखको विषय क्रिकेट हेर्न टियु मैदान पुगेका आधाभन्दा बढी दर्शक मैदान भन्दा बाहिर रहन बाध्य भए । 

युएईविरुद्धको यो खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमाले नेता रघुजी पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीदेखि कांग्रेस नेता प्रदीप पौडेलसम्म पुगेका थिए । 

खेल हेर्न पुगेका प्रधानमन्त्रीदेखि नेता सांसदसम्मले खेलाडीसँग भेटेको, भिआइपी दिर्घामा बसेर खेल हेरेको फोटो पनि सामाजिक सञ्जालमा भेटिए । तर आधाभन्दा बढी दर्शक बाहिर बसेर, कोहि रुख चढेर क्रिकेट हेरेको शायद उनीहरुको नजरमा पर्यो वा परेन ?

नेपाली क्रिकेटले अभूतपुर्व सफलता हासिल गरिरहेको अहिलेको समयमा अब सरकारले यसको पूर्वाधारमा लगानी गर्न ढिला गर्नु हुदैन भन्ने सन्देश विहिबारको टियु मैदानको दृश्यले दिएको छ । एउटा खेलले कसरी देशलाई एक ठाउमा ल्याउन सक्छ, आर्थिक रुपमा कति ठुलो योगदान हुन सक्छ, खेलाडी र समर्थकको उत्साहले देश बाहिर कस्तो सन्देश जान्छ भन्ने एउटा ऐतिहासिक घटना हो  विहिबारको खेल । 

खेल हेर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई विशिष्ट अतिथि  कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले ठुलो स्वरमा भनेक थिए, 'प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।'

प्रधानमन्त्री प्रचण्डले दर्शकको अवाज सुनेकी सुनेनन् त्यो त कामबाट देखिने कुरा हो ।  तर मङ्सिर ४ को निर्वाचनपछि देशले अहिलेसम्म खेलकुदमन्त्री नपाएको तितो सत्यका बीच प्रधानमन्त्री प्रचण्डले क्रिकेट पुर्बधारमा कस्तो काम गर्छन् त्यो हेर्न बाँकी छ । 

विहिबारको खेलमा क्यानले ११ हजार टिकट बिक्री अघिल्लो दिन नै गरेको थियो । तर टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन् । टिकट खरिदकर्ता र सञ्चार माध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेटमा खेल सुरु हुँदा नहुँदै अत्यधिक चाप भएपछि प्रहरीले बन्द गरिदिएको थियो । परिणामस्वरूप धेरै क्रिकेट प्रेमीहरू रङ्गशाला वरिपरिका अग्ला स्थान र रुखमा समेत चढन बाध्य भएका थिए । सँगैको आयुर्वेद विभागको छतसमेत पूरै भरिएको थियो । भिड बढदै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो । त्यसपछि त्यहाँ केही बेर नाराबाजीसमेत भएको थियो ।  

खेलमा जीतसँगै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । तर देशमा हालसम्म एउटा पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला छैन भन्नुपरेको नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीहरू बताउँछन् । 'एउटा भन्नु त्यही त्रिवि रङ्गशाला छ जहाँ प्यारापिट छैन, राति र दिनमा पनि खेलाउन सकिने फ्लड लाइटहरू छैनन् र चाहे जति दर्शकलाई खेल देखाउन पनि सक्दैनौँ', क्यानका सचिव दीर्घराज पाठकले रासससँग भने । उनका अनुसार अहिलेको रङ्गशालामा थोरै सुधार गर्ने हो भने पनि झण्डै २० हजार दर्शक अटाउन सक्छन् । 

क्यानले यसबारे सरकारलाई धेरै पटक ध्यानाकर्षण गराइसकेको जानकारी पनि पाठकले दिए । 'स्रोतको अभावका कारण चाहेर पनि धेरै गर्ने सक्ने अवस्था छैन । अर्कोतर्फ त्रिविको स्वामित्व भएको जमिनमा केही गर्न उसको पनि सहमति चाहिन्छ', उनको भनाइ छ । 

त्रिविबाहेक उपत्यकामा मूलपानी लगायतका स्थानमा रंगशाला र बाहिरका रङ्गशालालाई पूर्ण क्षमतामा चलाउन नसक्दासम्म नेपाली क्रिकेटको व्यवस्थापन राम्रो हुन नसक्ने देखिने बताइएको छ ।

खेलाडीको मिहिनेत र उत्कृष्ट प्रदर्शन तथा समर्थकको अपार माया पाउदा पनि पूर्वाधारको अभावमा नेपाली क्रिकेट अहिले ग्रसित नै छ । त्यसैले विहिबार खेल हेर्न जाने प्रधानमन्त्रीदेखि अन्य नेताहरुले पुर्बधार बनाउन पहल गर्नेकी आधा दर्शक मैदान बाहिर प्रहरीको घेरामा राखेर आफु भिआइपी दीर्घामा बसेर खेल हेरिरहने यस विषयमा सोच्न र एक्सनमा आउन अब ढिला हुदैछ । भन्ने हो भने तपाइँ नेताहरुले भिआइपी दीर्घामा बसेर खेल हेर्नेसम्मको काम त गर्नुभएको छैन तर कम्तिमा अर्को पटक टियु मैदानमा पुग्दा केहि क्रिकेटका लागि काम गरेर समर्थकहरुले जय जयकार गर्ने वातावरण बनाएर पुग्नुहोला ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै