• २०८१ बैशाख ११ मंगलबार

क्षुद्रग्रह पृथ्वीमा ठोक्किन सक्ने नासाको चेतावनी, शुरु गर्यो अध्ययन

kharibot

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हालै पत्ता लागेको एउटा क्षुद्रग्रहको निगरानी गरिरहेको छ । यो क्षुद्रग्रह सन् २०४६ मा पृथ्वीमा ठोक्किने आशंका गरिएको छ । तर, नासाका अनुसार यसको टक्करको सम्भावना 'धेरै कम' छ ।

नासाका अनुसार यो क्षुद्रग्रह सन् २०४६ मा भ्यालेन्टाइन डेका दिन पृथ्वीमा ठोक्किनेछ । युरोपेली अन्तरिक्ष एजेन्सीको तथ्यांक अनुसार यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना ६२५ मध्ये १ छ ।

नासाको जेट प्रोपल्सन प्रयोगशालाले अन्तरिक्षबाट आउने कुनै पनि खतराको निगरानी गर्छ । यो आकाश चट्टानलाई २०२३ डीडब्लु नाम दिइएको छ । नासाको जोखिम सूचीमा यो एक मात्र वस्तु हो । यो क्षुद्रग्रह ओलम्पिक स्विमिङ पूलको आकारको छ । नासाले यो क्षुद्रग्रहको टक्करको जोखिम निकै कम रहेको बताएको छ । नासाका इन्जिनियर डेभिड फर्नोचियाले भने, 'यो वस्तु विशेष चिन्ताजनक छैन ।'

नासाको जोखिम सूचीमा १४४८ क्षुद्रग्रहहरू

सीएनएनका अनुसार एउटा क्षुद्रग्रह पत्ता लाग्दा सुरुमा त्यसलाई बढी खतरनाक मानिने सामान्य कुरा हो । यद्यपि, जब यो नयाँ क्षुद्रग्रहको थप विश्लेषण गरिन्छ, तब खतराको सम्भावना कम हुन्छ । नासाको जोखिम सूचीमा १४४८ क्षुद्रग्रहहरू छन् र २०२३ डी डब्लुको जोखिम सबैभन्दा बढी छ । यो क्षुद्रग्रह आगामी दुई दशकसम्म पृथ्वीतर्फ आउने छैन ।

यो क्षुद्रग्रह १६० को फिट छ । अहिले यो क्षुद्रग्रह २०२३ डीडब्लुले सूर्यको परिक्रमा गरिरहेको नासाले बताएको छ ।

नासाका अनुसार सन् २०४७ र २०५४ को बीचमा ९ अन्य क्षुद्रग्रह पृथ्वीको नजिक आउनेछन् । यो आकाश चट्टान पहिलो पटक २ फेब्रुअरीमा अन्तरिक्षमा देखिएको थियो । यो क्षुद्रग्रह २५ किलोमिटर प्रति सेकेण्डको गतिमा घुमिरहेको छ र अहिले यो पृथ्वीबाट १ करोड ८० लाख किलोमिटरको दुरीमा छ । यसले हरेक २७१ दिनमा सूर्यको परिक्रमा गरिरहेको छ । नासाले भर्खरै आफ्नो डार्ट मिसन सफलतापूर्वक परीक्षण गरेको छ । यसमार्फत नासा बाटोमा रहेको क्षुद्रग्रहलाई नष्ट गर्ने प्रविधिमा सफल भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै