• २०८१ बैशाख ४ मंगलबार

पदमार्ग निर्माणले म्याग्दीको नारच्याङ झरना पुग्न सहज

kharibot

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ झरना जोड्ने पदमार्ग निर्माण भएको छ ।

नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । 

झरना अवलोकन गर्न आउने पर्यटकको सहजरुपमा आवतजावतका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले कार्यालयको सहयोगमा भिरालो पाखोको उकालोमा एक सय ५० मिटर रेलिङसहितको पदमार्ग निर्माण गरिएको जानकारी दिए । पदमार्ग एक दशमलव पाँच मिटर फराकिलो छ ।

“दश लाख विनियोजन गरी पदमार्ग निर्माण थालिएको हो, यसमा  स्थानीयले १० प्रतिशत श्रमदान गरेका छन्,” उनले भने । नारच्याङ गाउँदेखि झरनासम्म थप एक किलोमिटर पदमार्ग निर्माण आवश्यक भएको फगामी बताउछन् ।

पदमार्ग निर्माणपछि पर्यटकलाई सहज हुनेछ । उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने जोखिम थियो । पदमार्ग निर्माणलाई पूर्णता दिन योजनालाई निरन्तरता दिइने वडाध्यक्ष लोकबहादुर फगामीले बताए । 

झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ । चार-पाँच वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो । दैनिक झण्डै एक सय स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकनका लागि आउने गरेका स्थानीय टकबहादुर पुनले बताए ।

झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ । स्थानीयले नारच्याङदेखि झरनासम्म कच्ची पदमार्ग, दृश्यावलोकन स्थल र घेराबार निर्माण गरेका छन् । झरना नजिकैको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो ।

सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ । भूमेथान परिसरमा अन्नपूर्ण गाउँपालिकाको रु सात लाख अनुदानमा घेराबार र दृश्यावलोकन स्थल बनाइएको छ ।

सार्वजनिक शौचालय निर्माण भएको छ । विश्रामका लागि भवन निर्माणाधीन छ । बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र आधा घन्टा पैदल हिँडेर झरना भएको स्थानमा पुग्न सकिन्छ ।

झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात घरमा घरबास ‘होमस्टे’ सञ्चालन गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै