• २०८१ बैशाख ६ बिहीबार

संसदको प्रमुख प्रतिपक्षी दलमा काँग्रेस र एमाले दुवैको दाबी

kharibot

काठमाडौं । संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल आफू दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । 

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालिन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमवार नेकपा(एमाले)ले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । यससँगै नेकपा(एमाले)ले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ । 

कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । काँग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् ।

यसै सन्दर्भमा बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताए । उनले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गरे ।

काँग्रेस सरकारमा नजाँदासम्म संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उनको भनाई छ । एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसावले काँग्रेस अगाडी रहेकाले काँग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उनले बताए ।

त्यस्तै नेकपा (एमाले) का सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताए । उनले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पारे । यद्यपी को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरुपण गर्ने काम संसद सचिवालयको भएको उनले बताए । 

त्यसैगरी कुराकानी गर्दै एमालेका केन्द्रिय सदस्य सांसद ठाकुर गैरेले एमाले संसदको प्रतिपक्षी बेन्चमा बस्ने बताए । एमाले प्रतिपक्षी भएर जनताको आवाज संसद र सडकबाट उठाउने उनले बताए । 

उनले एमाले सरकारमा रहँदापनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै काँग्रेस सत्तापक्ष अथाव प्रतिपक्ष दुवै हैसियतमा बस्न नसकेको टिप्पणी गरे । उनले काँग्रेसको परिचय खुल्न नसकेको प्रतिक्रिया दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै