• २०८१ बैशाख ८ शनिबार

मिडिया सोसाइटीको विज्ञप्ति: लामिछानेले जनतासँग माफी माग्नुको सट्टा अराजनैतिक मनोदशा देखाए

kharibot

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मिडिया सोसाइटीले लामिछानेले मिडिया र मिडियाकर्मी प्रति दिएको अभिव्यक्ति प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर घात भएको सोसाइटीले उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ- 'नेपालको परिवर्तन र जनताको हक अघिकारको स्थापना, संरक्षण र विकासका लागि अग्रीम मोर्चामा रहेर जनतालाई सूसुचित गराउने दायित्व निर्वाह गर्दै आएको नेपालको स्थापित पत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहारो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रबैयाले उनको नवोदित दलको मिडिया विरोधी रबैयालाई उदाङ्गो पारेको छ ।'

मिडिया सोसाइटीले लामिछानेले जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लागउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको बताएको छ ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरुको नामै लिएर सार्वजनिक रूपमा धम्की दिंदै विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई आफैं कारबाही गर्ने चेतावनीबाट नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरु असुरक्षित हुनसक्ने स्थिति देखा परेको घटनाप्रति नेपाल मिडिया सोसाइटी सम्वन्धित पक्ष र सरकारको समेत गम्भीर ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ- 'लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने  कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरा समेत स्पष्ट गर्न चाहन्छौ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर रुपमा संघर्ष गर्दै आएको नेपाली मिडिया जगत कुनै पनि दल वा व्यक्तिका त्यस प्रकारका धम्कीहरुबाट विचलित हुने छैन । आम सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित कुनै पनि सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान पर्याप्त छ । तर लामिछानेले नेपाली मिडियालाई सार्वजनिक रुपमा धम्काएर आफ्नो पद गुमेको तितो पोख्ने जुन शैली अपनाए त्यसले उनको बचकनापन र अराजनीतिक शैलीलाई मात्र देखाएको छैन कि आपराधिक बाटोमा अघि बढ्न सक्ने खतरा पनि देखाएको छ ।' 

लामिछानेको धम्कीपूर्ण अभिव्यक्ति प्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षमा मात्र भएको नभएको उल्लेख गर्दै तत्काल लामिछानेले आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन आग्रह समेत गरेको छ । मिडिया सोसाइटीले लामिछानेले आरोपित गरिएका मिडिया र मिडियाकर्मी प्रति कुनै प्रमाण भए पुष्टि गर्न समेत चुनौति समेत दिएको छ ।

नेपाल मिडिया सोसाइटीले लामिछाने र उनको दललाई के नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिका माथि बर्बहराहट गर्ने अधिकार कहाँबाट प्राप्त गरे ? भन्दै प्रश्न समेव्त सोधेको छ ।

साथै सोसाइटीले समयमै आफ्नो गल्ती सच्याउन र आम जनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौति दिने गल्ती नदोहर्याउन समेत चेतावनी दिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै