• २०८१ बैशाख ६ बिहीबार

सत्तारुढ गठबन्धन टिकाई राख्न जरुरी छ- प्रदीप ज्ञवाली

kharibot

भक्तपुर । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् । 

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखापरेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो ।

रफ्त सञ्चार क्लवले सोमवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए ।

उनले काँग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकिर समेत गरे । 

उपमहासचिव ज्ञवालीले भने, ‘जहाँसम्म राष्ट्रपति निर्वाचनको कुरा छ । हिजो पुस १० गते जे समझदारी भएको छ । यो सरकार बनाउने राजनीतिक दलहरुको बीचमा । त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनुपर्दछ ।

नेपाली काँग्रेसले एकातिर प्रतिपक्ष हुन पाउँ भनेर संसद सचिवालयमा निवेदन पनि दिने । अर्कोतिर सत्ताका महत्वपूर्ण अंगहरुमा हिस्सेदारी पनि खोज्ने । त्यो कहीँ पनि मिलेन । लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ ।

नियन्त्रण र सन्तुलन खल्बलिन्छ । तर सत्ताबाट हट्नुपरेको डेढ महिनामै त्यो ढंगको छटपटी जुन देखिएको छ । त्यो कतै पनि राम्रो कुरा हो भन्ने मलाई लाग्दैन । त्यसो भएर अहिले सत्ता गठबन्धनलाई टिकाई राख्ने, त्यही हिसावले राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने र अहिले देखा परेका राजनीतिक अस्थिरता र अन्यौलहरु हटाएर अगाडि बढ्न जरुरी छ ।’

उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हट्नुपरेको छटपटी शुरु भएको आरोप समेत लगाए । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै