• २०८१ बैशाख १२ बुधबार

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब बित्तीय श्रोत आवश्यक

kharibot

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताएका छन् । 

सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब बित्तीय श्रोत आवश्यक देखिएको बताए ।

उनले काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत प्राधिकरणबाट विद्युत लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको बताए ।

उनले भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय तथा सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले नयाँ पाइपलाइन बिछ्याएपछि पानी पठाउने क्रममा केही समस्या र चुनौतिहरु आएको बताए ।

उनले नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको तथा पानी परीक्षण र वितरण हुँदा यस्ता पाइपहरुबाट पानी चुहावट हुने गरेको पाइएको बताए । उनले त्यसरी क्षति भएका खानेपानी पाइपलाइनको ममर्त कार्य सम्पन्न गर्न अतिरिक्त समय र श्रोत परिचालन गर्नुपर्ने आवश्यक्ता देखिएको बताए ।

उनले मेलम्चीको पानी दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिव ८ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको जानकारी दिए ।

उनले यसमध्ये हालसम्म करिव ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको र बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याइ परीक्षण शुरु गर्ने लक्ष्य रहेको बताए । उनले अहिले सम्भव भएका स्थानहरुमा वितरण पाइपलाइनहरु सडक खन्नु नपर्ने प्रविधि (एचडिडि) बाट पाइपलाइन बिछ्याउने कार्य गरिराखेको बताए ।

उनले चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैंसेपाटी, वागडोल, सूर्यविनायक, मुलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटार लगायतका स्थानमा करिव १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइनको कार्य भइरहेको बताए । 

उनले भने, ‘काठमाडौं उपत्यकामा विद्यमान खानेपानीको समस्या समाधान गर्नका लागि मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पथान्तरण हुँदा नयाँ थोक तथा वितरण सञ्जालमार्फत पानी वितरण गर्नका लागि आवश्यक खानेपानीहरुको संरचना निर्माण गर्ने काम भइरहेको छ । सुन्दरीजलदेखि चक्रपथ वरिपरि निर्माण भएका पानी पोखरीसम्म पु¥याउने करिव ७६ किलोमिटर थोक प्रणाली जसले २२ करोड लिटर प्रतिदिन पानी ल्याउन सक्छ । र ७४ हजार ५ सय घनमिटरको पानी पोखरीहरु १० वटा छ । निर्माण भएका पानी ट्याङ्की र पोखरीहरुको हामीले सफलतापूर्वक परीक्षण पश्चात मेलम्चीको पानी काठमाडौं उपत्यकामा अहिले वितरण भइरहेको छ । उक्त थोक वितरण प्रणाली र पानी पोखरीहरु मिति २०७९, १०,१६ गते काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई सञ्चालनका लागि ह्याण्डओभर गरिसकेका छौँ । त्यसको अप्रेशन केयुकेएलबाट भइरहेको छ । पहिलो चरणमा एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा काठमाडौं उपत्यकाको चक्रपथ भित्रका अधिकांश क्षेत्रमा १ हजार १० किलोमिटर भन्दा बढी खानेपानीको वितरण सञ्जालका नयाँ पाइपहरु बिच्छयाइसकिएको छ । उक्त वितरण सञ्जाललाई विभिन्न ३२ क्षेत्र (डिएमए) र १६२ उपक्षेत्र (सबडिएमए) हरुमा विभाजन गरी वितरण गर्ने पद्धति अपनाइएको छ । यी मध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण कार्य समेत सम्पन्न भइसकेको र सो मध्ये २७० किलोमिटर पाइपलाइनमार्फत करिव १७ हजार धाराबाट पानी वितरण भइरहेको छ । परीक्षण सम्पन्न भएको २८० कलिोमिटर पाइपलाइनबाट केही दिनको अन्तरालमा पानी वितरण भइरहेको छ । मेलम्चीबाट १७ करोड लिटर पानी मिति २०७९ पौष २ गते पुनः सुचारु भएपश्चात बाँकी पाइपलाइन परीक्षणको कार्य तिब्रताका साथ हुँदै आएको र असार मसान्तसम्ममा परीक्षण सक्ने लक्ष्य राखेका छौँ । दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चmक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिव ८ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको छ । यसमध्ये हालसम्म करिव ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ । बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याइ परीक्षण शुरु गर्ने लक्ष्य छ । सम्भव भएका स्थानहरुमा वितरण पाइपलाइनहरु सडक खन्नु नपर्ने प्रविधि (एचडिडि) बाट पाइपलाइन बिछ्याउने कार्य गरिराखेका छौँ । खानेपानीको थोक तथा मुख्य वितरण प्रणाली प्रभावकारी सञ्चालन गर्न केन्द्रिकृत रुपमा कम्पयुटरमा आधारित स्वचालित प्रविधि स्काडा जडान गर्ने कार्यको डिजाइन कार्य सम्पन्न भएको छ, विद्युतीय उपकरणहरुको आपूर्ति तथा संरचना निर्माणको कार्य भइरहेको छ । यसपछि विभिन्न स्थानमा हुने चुहावट र भल भएको बेला हुने चुहावट कार्य अफिसमै बसेर बन्द गर्न सक्नेछाँै । नयाँ पाइपलाइन बिछ्याएपछि पानी पठाउने क्रममा हामीलाई केही समस्या र चुनौतिहरु आएका छन्, नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा यस निर्देशनालयबाट बिछ्याइएका थोक तथा सवतरण सञ्जालका पाइपलाइनमा क्षति भएको तथा पानी परीक्षण तथा वितरण हुँदा यस्ता पाइपहरुबाट पानी चुहावट हुने गरेको छ । त्यसरी क्षति भएका खानेपानी पाइपलाइनको ममर्त कार्य सम्पन्न गर्न अतिरिक्त समय र श्रोत परिचालन गर्नुपर्ने आवश्यक्ता आएको छ । काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत प्राधिकरणबाट विद्युत लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो रहेका कारण बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत लाइनमा भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन सकेको पाइएन । भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय तथा सावधानी अपनाउन आवश्यक रहेको छ । उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएकाले सो माग सम्बोधन गर्न अनुमानित २४ अर्ब बित्तीय श्रोत आवश्यक देखिएकाले सोको व्यवस्थापन समयमा नै हुन जरुरी देखिन्छ ।’

पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले दोस्रो पटक मेलम्चीको पानी गत मंसिर २३ गते वितरण भएपछि लिमिटेडले राखेको रेकर्डअनुसार करिव ११ सय वटा चुहावट मर्मत गरेको बताए । उनले अहिले पनि पुरानो पाइपलाइनबाट नै पानी वितरण भइरहेको भन्दै पुरानो वितरण सञ्जाल तत्कालिन आवश्यक्तालाई ध्यानमा राखेर मात्रै सञ्चालन गरिएको बताए । 

उनले भने, ‘मंसिर २३ गते पानी वितरण भइसकेपछि मंसिर २४ गतेदेखि रेकर्ड राख्दा करिव ११ सय वटा चुहावट मर्मत हामीले गरिसकेका छौँ । चुहावट मर्मतका कुरामा धेरै चासो भएकाले अहिले हामीले पुरानो वितरण सञ्जालबाट नै पानी वितरण गरिरहेका छौँ । त्यसमा कति पाइपहरु सय वर्ष पुरानो छ, त्यसलाई नै मर्मत गरेर पानी वितरण गर्नुपर्ने बाध्यता छ । पुरानो वितरण सञ्जाल तत्कालिन आवश्यक्तालाई ध्यानमा राखेर गरिएको हो । भविष्यमा कति घर थपिन्छन् भन्ने आँकडा राखिएको छैन, पानी हुँदा हुँदै पनि वितरण सञ्जालको साइजको कारणले सबै घरधुरीमा समानुपातिक रुपमा पानी वितरण गर्न सकिरहेका छैनौँ ।’

उनले मेलम्चीको पानी वितरण सञ्जालको साइजको कारण सबै घरधुरीमा समानुपातिक रुपमा पानी वितरण गर्न नसकेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै