• २०८१ बैशाख ८ शनिबार

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्छु- उपाध्यक्ष अर्याल

kharibot

काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताएकी छिन् । 

सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताएकी हुन् ।

उनले राष्ट्रिय सभाको भुमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताइन् । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् । उ

नले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताइन् । त्यस्तै महिलाहरुका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन् । 

उनले भनिन्– ‘मेरो भुमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरुमा एउटा एजेण्डा त्यो हो । प्रभावकारी नै छ पनि । सबै अनुभवि माननीयज्युहरु हुनुहुन्छ । एउटा भोगाई, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा । त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापी त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्युहरुका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यि तमाम चिजहरुमा सोच छ । मैले ०६२÷०६३ सालको आन्दोलनका अगुवाइ पनि गरेँ र त्यो बेलामा मैले एउटा पहल पनि गरेको थिएँ । देशभरीका महिलाहरुलाई सबै पार्टीका एकजुट गराएर लाने । मलाई आज सौभाग्य पनि हो उहाँहरुले भन्नुभयो, मलाई उठ्नु भन्नुभयो मलाई हजुरको बिरुद्ध लड्न मन लागेन । सर्वसम्मत गराउनुपर्छ भनेर हामी महिलाहरु नै लाग्यौँ भन्नुभयो । त्यो खुशीको कुरा हो । म यहाँ रहँदाखेरी म यो पार्टी, ऊ पार्टी भन्दापनि किनभने हामी सबैको योगदान छ, यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको छ । कति यो ठाउँसम्म नआउँदै हराउनु भयो । सिद्दिनु भयो । कति शहीद हुनुभयो । ति तमामलाई सम्झेर हामीले प्रतिवद्धताका साथ काम गर्नेछौँ । बाँकी महिलाहरुका लागि के कति कामहरु, नयाँ नियम कानूनहरु बनाउनसक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जाने । त्यसको नीतिगत पहलहरुमा भुमिका खेल्ने ।’

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भुमिका खेलेका बताइन् । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनको भनाई छ । 

उनले भनिन्– ‘हजुर सर्वसम्मत हुनुपर्छ भनेर उहाँहरुले नै धेरै पहल गर्नुभयो । र आ–आफ्नो पार्टीका नेताहरुलाई कन्भिन्स् गर्ने कुरो जे भयो मलाई लाग्छ, मेरो सन्दर्भमा उहाँ अलि बायस हुनुहुन्न, पार्टी बायस पनि हुनुहुन्न र समग्रतमा नेतृत्व गर्न सक्नुहोला भन्ने सोचले सायद मलाई सहयोग पनि गर्नुभयो मलाई । म भन्दा सक्षम नेतृहरु हुनुहुन्छ त्यहाँ । एउटा त्यो सदासयता । मलाई सर्वसम्मत बनाउने कुरामा पार्टीलाई पनि उहाँहरुले प्रभावमा पार्नुभयो र म निर्विरोध हुने वातावरण बन्यो ।’

उनले आफूले कसैको पक्ष नलिइ काम गर्ने कुरामा सबैको विश्वास रहेको बताइन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै