• २०८१ बैशाख ११ मंगलबार

रक्षामन्त्रीद्वारा जंगी अड्‍डाको निरीक्षण भ्रमण

kharibot

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले जंगी अड्‍डाको परिचयात्मक निरीक्षण भ्रमण गरेका छन् । रक्षामन्त्रीमा नियुक्त भएपश्‍चात उनले पहिलो पटक जंगी अड्‍डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् ।

जंगी अड्‌डामा आयोजित विशेष कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका विविध गतिविधिहरुको बारे जानकारी गराइएको थियो । 

कार्यक्रमको दौरान प्रधान सेनापति महारथी प्रभुराम शर्माले नवनियुक्त रक्षामन्त्रीलाई बधाई ज्ञापन गर्दै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जंगी अड्‍डामा स्वागत गरेका थिए । उनले नेपाली सेना सम्पूर्ण नेपालीहरुको आफ्नै छोराछोरीहरु सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको उल्लेख गर्दै सेनाले विधिसम्मत ढंगले प्राप्त जिम्मेवारीहरु समर्पित तवरले पुरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको कुरा बताए ।

सो कार्यक्रमको दौरान रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापन लगायत नेपाली सेनाको समग्र क्षमता विकास गर्ने एवं नेपाली सेनालाई आत्मनिर्भर बनाउदै लैजाने कुरामा रक्षा मन्त्रालय र नेपाल सरकारको विशेष जोड हुनु पर्ने कुरा बताउदै त्यसका लागि श्रोत साधनको व्यवस्था तथा आवश्यक कानूनी प्रावधान तयार गर्ने कार्यमा नवनियुक्त रक्षामन्त्रीज्यूबाट विशेष अग्रसरताको अपेक्षा गरेको कुरा बताए । 

कार्यक्रममा रक्षामन्त्री उप्रेतीले आफ्नो पहिलो जंगी अड्‍डा भ्रमणको दौरान नेपाली सेनाको बारे उपलब्ध गराएको जानकारीका लागि धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय एकीकरण अभियानको प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्‍न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिकाको प्रशंसा गरेका थिए ।

रक्षामन्त्रीले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्वहरु निर्वाहमा अब्बल रहँदै आएको नेपाली सेना, नेपाल सरकार तथा नेपाली जनताको भरोसाको केन्द्रका रुपमा रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको चर्चा गर्दै हाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने देशहरु मध्ये दोश्रो भएतापनि विश्‍व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधै अग्रपंक्तिमा रहेको र यसबाट आफू अत्यन्तै खुसी हुने गरेको उल्लेख गरे ।

रक्षामन्त्रीले हरेक विपद्को घडीमा नेपाली जनताको साथमा रहँदै आएको नेपाली सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानहरुसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान दिँदै आएको कुरा बताए ।

कार्यक्रमको आरम्भमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै