• २०८१ बैशाख १२ बुधबार

१७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद

kharibot

बारा । २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् ।

माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं. १६ का स्वर्गीय सीताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दाबबी गर्दै आएका हुन् । 

उनले गाविस भोडहाकाे कित्ता नं. १८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१–१०, ०–९–०–५, ०–६–० र ०–१–१५ जमिन मेरो भन्दै दाबी गरेका हुन् । जबकी यी जमिनमा रामबहादुर कार्कीसहित पूर्णबहादुर खड्का, गीता भण्डारी, चेतकुमारी राना, विनीता गौतम, अमृता जर्गा लगायत १७ परिवार बसोबास गर्दै आएका छन् ।

बरालले आफ्नो बाबु सीताराम बरालको नामबाट आमा डम्बरकुमारीका नाममा लगिएको दाबी गरे पनि उक्त जमिन नेपाल सरकारको ऐलानी भएको स्थानीयले बताए । 'आफुहरू बस्दै आएको जमिनको कीर्ते कागजात बनाएर हामीलाई दुःख दिने काम भएको छ । तत्काल बदर हुनुपर्छ । भूमिसुधार तथा मालपोत कार्यालयमा निवेदन दिएका स्थानीय राम बहादुर कार्कीले भने, 'मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा कीर्ते मोठ खडा भएको देखियो ।'

पीडित पक्षबाट मालपोतमा जमिनको कीर्ते श्रेस्ता बदरका लागि निवेदन दिएकोमा माघ ४ गतेका लागि दुईपक्षलाई बोलाईएको थियो । उक्त दिन दुबै पक्ष सहभागी भए पनि मालपोतले पुन: १३ माघका लागि तारिख दिएको कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाराले पीडितका पक्षबाट श्रेस्ता बदरका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ले गरेको सिफारिस संलग्न राखी मालपोत बारालाई यस विषयमा छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत अनुश आर्चायले गत मंसिर २८ गते लेखेकाे पत्रको जवाफ प्रशासन कार्यालय बाराले अझै पाएको पाएको छैन । 

घरबास भएको जमिन नै अर्काले मेरो भन्दै पूर्जा लिएर आएपछि यहाँका स्थानीय तनावमा देखिएका छन् । उनीहरूले मालपोतमा गई समस्या दर्ज गरेका थिए । मालपोत कार्यालय बारा कलैयाले जग्गाको वास्तविकता बुझ्ने प्रक्रिया अपनाउँदै जग्गा दाबीकर्ता बराललाई १५ दिनभित्र सम्पूर्ण प्रमाण लिई आउनु भनि पत्र पठाएको थियो । जुन पत्रको म्याद माघ ४ मा ग्रुजेको छ ।

पत्रको जवाफमा जमिन दाबीकर्ता बरालले जमिन आफ्नै भएको दावी गर्दै बदरको निवेदनको तुक नभएको उल्टै पीडित भनिएकाहरूले आफ्नो जमिन खनजोत गर्दै आएको बताएका छन् । उनले २०३५ साल २ महिना १२ गतेको निर्णयबाट नेपाल सरकारको नामबाट खारेज भई आमा डम्बर कुमारीको नाममा आएको उल्लेख गरेका छन् ।

यता पीडित पक्षले भने ऐलानी जमिनलाई कीर्ते गरी आफ्नो दाबी गर्ने काम भएको बताएका छन् । यति मात्रै नभई १३५ नं. कित्ता स्थानीय गोपाल सुहालको नम्बरी जमिन १ बिघा १५ कठ्ठा रहेकोलाई कीर्तेगरी १ कठ्ठा १५ धुरको दोहोरो पूर्जा बनाएर दाबी भइरहेको  स्थानीय पूर्णबहादुर खड्काले बताए ।

'एउटै क्षेत्रमा कसरी एउटै कित्ताका दुई फरक पूर्जा हुन्छ । यो हुनै नसक्ने विषय आयो । मालपोतको लापरबाहीका कारण नेपाल सरकारको जमिन भू-माफियाले आफ्नो बनाउन खोजे,' उनले भने, 'तर, कदापि हुन दिइनेछैन । २०३५ सालभन्दा अगाडिबाट हामीले घरबाससहित भोग गर्दै आएका हौं । यतिका दिनसम्म कसैले केही भनेको थिएन । अहिले आएर मेरो भन्नेको कुनै आधार छैन । उनका प्रमाण कीर्ते र नक्कली हुन् । हामीलाई दुःख दिने मात्रै काम भयो ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै