• २०८१ बैशाख ८ शनिबार

भागबण्डा मिलाउन चार उपप्रधानमन्त्री र तिन राज्यमन्त्री, कस्तो बन्यो प्रचण्ड क्याबिनेट ?

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिएका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनाउदै सरकारलाई पूर्णता दिएका हुन् ।

चार उपप्रधानमन्त्री

प्रचण्डले सरकार बनाउदाको बाध्यात्मक अवस्थालाई आफ्नो मन्त्रिपरिषदमा झल्काएका छन् ।  जस अनुसार सरकारमा चार दलका नेतालाई उपप्रधानमन्त्री बनाइएको छ । 

सरकारमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका विष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन् ।

गठबन्धनको बाध्यता आफ्नो ठाउमा छ तर अहिलेको अवस्थामा चार चार जना उपप्रधानमन्त्री देशको आवश्यकता कदापी होइन । सामान्यतया प्रधानमन्त्रीलाई काम गर्न सजिलो बनाउन एक उपप्रधानमन्त्री राख्ने प्रचलन सामान्य भएपनि सबै दललाई खुशी बनाउने मात्र उद्धेश्यले प्रचण्डले चार उपप्रधानमन्त्री बनाएको स्पष्ट देखिन्छ ।

नयाँ मन्त्रीको बाहुल्यता

यस पटकको मन्त्रिपरिषदमा नयाँ मन्त्रीहरुको संख्या धेरै रहेको छ । २० जना मन्त्री र ३ राज्यमन्त्री मध्ये १५ मन्त्री र ३ राज्यमन्त्री पहिलो पटक मन्त्रिपरिषदमा सहभागी भएका छन् । प्रचण्ड नेतृत्वको यो सरकारको सबैभन्दा सकारात्मक पक्ष नै नयाँ मन्त्री बन्नु हो । यसले नयाँलाई काम गरेर देखाउने अवसर र चुनौति दिएको छ ।

सरकारमा एमालेले अर्थमन्त्री विष्णु पौडेल बाहेक सबै नयाँ अनुहारलाई सरकारमा पठाएको छ । जसमा कृषिमन्त्री ज्वालाकुमारी साह, उद्योगमन्त्री दामोदर भण्डारी,  भूमिसुधारमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री विमला राइ पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरी, महिलामन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेती रहेका छन् । 

त्यस्तै यस पटक माओवादी केन्द्रले पनि केहि नयाँ अनुहारलाई मन्त्री बनायो । जसमा सुदन किराँती पर्यटनमन्त्री, अमनलाल मोदी सामान्यप्रशासनमन्त्री र सुशिला श्रीपाली पर्यटन राज्यमन्त्री रहेका छन् ।

त्यस्तै राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेन पहिलो पटक उपप्रधान तथा उर्जामन्त्री बनेका छन् भने ध्रुबबहादुर प्रधान कानुनमन्त्री तथा दिपक बहादुर सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका सबै चार जना नयाँ नै हुन् । जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

महिला मन्त्री

प्रचण्ड मन्त्रीपरिषदमा मन्त्री र राज्यमन्त्री गरी ६ जना महिला मन्त्री बनेका छन् । जसमा रेखा शर्मा सञ्चारमन्त्री, ज्वाला कुमारी साह कृषिमन्त्री, विमला राइ पौड्याल परराष्ट्रमन्त्री, भगवती चौधरी महिला तथा बालबालिकामन्त्री रहेका छन् । त्यस्तै सुशिला श्रीपाली पर्यटन राज्यमन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् । प्रतिशतको हिसाबले प्रचण्ड मन्त्रिपरिषदमा २६ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ ।

त्यस्तै समानुपातिक प्रतिनिधित्वका हिसाबले भने प्रचण्ड सरकार निर्वामं गर्न चुकेका देखिन्छन् । सुशिला श्रीपाली बाहेक सरकारमा कुनै पनि दलितको प्रतिनिधित्व रहेको छैन । एक मात्र मुश्लिम मन्त्री बनेका जनमत पार्टीका अब्दुल खाँनले सहमति अनुसारको मन्त्रालय नपाएपछि पदभार ग्रहण गर्न अस्वीकार गरेका छन् । जनमत पार्टीले उद्योग मन्त्रालयमा दाबि गरेपनि उनलाई खानेपानी मन्त्री बनाइएको छ । 

यसरी निष्कर्षमा प्रचण्डले अनावश्यक रुपमा ४-४ उपप्रधानमन्त्री बनाएको देखिन्छ भने राज्यमन्त्री पनि आवश्यक नरहेको देखिन्छ । नेताहरुको मन्त्री बन्ने चाहनालाई पुरा गर्न र सत्ता साझेदार दलमा भागबण्डा पुर्याउन उपप्रधान तथा राज्यमन्त्री थपिएको स्पष्ट देखिन्छ । विगतमा सरकार निर्माण हुदा यस्ता कुराको सार्बजनिक रुपमा आलोचना गर्ने राजेन्द्र लिङदेन र रवि लामिछाने जस्ता पात्रहरुनै यस्तो भागबन्डामा सामेल हुनुले सरकारबाट थप आशा भने गर्न सकिन्न । 
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै