• २०८१ बैशाख १३ बिहीबार

कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी

kharibot

प्रतिनिधि तस्बीर

कपिलवस्तु । कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटैपालिका गरिएको जाँचबाट आँखाको बिरामी सङ्ख्यामा वृद्धि देखिएको हो । कपिलवस्तुमा १० हजार नौ सय ९७ आँखाका बिरामी देखिएका छन् । 

नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले आज शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कपिलवस्तु जिल्लामा आँखाको बिरामीको स्थितिको बारेमा तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा शिवराज नगरपालिकामा सबैभन्दा बढी आँखाको बिरामी रहेको बताइएको छ । शिवराजमा एक हजार छ सय ७९ आँखाको बिरामी रहेको तथ्याङ्कमा देखाइएको छ । वाणगङ्गा नगरपालिकामा एक हजार छ सय २४, बुद्धभूमि नगरपालिकामा एक हजार चार सय २९, कृष्णनगर नगरपालिकामा एक हजार तीन सय ७८ र महराजगञ्ज नगरपालिकामा एक हजार दुई सय छ आँखाको बिरामी रहेको बताइएको छ । 

जिल्लाको मायादेवी गाउँपालिकामा एक हजार ६१, शुद्धोधन गाउँपालिकामा नौ सय ९४, यशोधरा गाउँपालिकामा आठ सय १३ र विजयनगर गाउँपालिकामा आठ सय १३ आँखाका बिरामीको पहिचान भएको नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिए । 

प्रशासक थापाले विभिन्न समयमा गरिएको जाँचबाट बिरामीको तथ्याङ्क प्राप्त भएको जानकारी दिए । उनले सबै बिरामीको शल्यक्रियाबाट उपचार गर्नुपर्ने बताए  । पालिकास्तरमा बिरामीको उपचारका लागि सहयोगको अपेक्षा गरिएको उल्लेख गरे । अस्पतालले पालिकाको सहयोगमा निःशुल्क उपचार गर्दै आएको छ । उनले आँखाको हेरचाह र सरसफाइ विशेष ध्यान पुर्याउन आग्रह गरे । 

नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पातलले स्थापना कालदेखि हालसम्म नौ लाख ३० हजार छ सय २२ जनाको ओपिडी परीक्षण गरिएको र एक लाख २३ हजार सात सय आठ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । उनले बजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या सिर्जना भइरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै