• २०८१ बैशाख ७ शुक्रबार

१८ औँ स्थापना दिवस मनाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय

kharibot

रुपन्देही  । लुम्बिनी बौद्ध विश्वविद्यालयले १८औँ स्थापना दिवस मनाउने भएको छ । प्रथम बौद्ध शिखर सम्मेलनको अवधारणापछि २०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी गरेको हो । 

दिवसका अवसरमा यही मङ्सिर १४ गते लुम्बिनी स्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा विशेष समारोह आयोजना गरिएको रजिष्ट्रार तिलकराम आचार्यले जानकारी गराए । सो समारोहमा क्याम्पसमा राखिएकोे बुद्ध मूर्ति अनावरण तथा स्तूपा पूजन कार्यक्रम छ ।

दिवसका अवसरमा विश्वविद्यालयले विश्वशान्ति प्राथना पर्व (मोन्लाम) को आयोजना गरेको छ । सोमबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा महायोगी विद्याधर आचार्य श्रीधर राणा रिम्पोच्छेको उपस्थितिमा मोन्लामको आयोजना गरिएको हो । मोन्लाममा झन्डै एक सय भिक्षु र दुई सय जना बौद्ध अनुयायी तथा स्थानीयको उपस्थिति रहनेछ ।

दिवसका अवसरमा मङ्सिर १३ गते सिटी कलेज, नयाँगाउँ बुटवलमा विभिन्न खेलकुद कार्यक्रम हुनेछ । मङ्सिर १३ गते सिटी कलेजमै रक्तदान कार्यक्रम, लुम्बिनीमा बृहद् सरसफाइ र इजरायलका राजदूतको उपस्थितिमा बुद्धको मावली स्थल देवदह गुरुयोजना अवलोकन गर्ने कार्यक्रम छ ।

मङ्सिर १५ गते विभिन्न पुरस्कार वितरण, १६ गते मोन्लाम तथा विश्वशान्ति पूजाको सांस्कृतिक पक्ष विषयमा अन्तरक्रिया राखिएको छ भने १७ गते गुह्य समाजतन्त्र विषयमा प्रवचन कार्यक्रम राखिएको विश्वविद्यालयका प्रशासकीय अधिकृत चुरामणि पोखरेलले बताए ।

विसं २०६७ बाट विद्यावारिधिबाट शैक्षिक कार्यक्रम सुरु गरेको विश्वविद्यालयले विद्यावारिधिपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । २०७० सालदेखि लुम्बिनीमा शैक्षिक कार्यक्रम सञ्चालन भएको हो ।

शैक्षिक कार्यक्रम विस्तारका क्रममा २०७४ सालदेखि बुटवलमा ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट विषय सुरु गरिएको छ भने २०७६ देखि बुटवलमा बिएएलएलबी कार्यक्रम सञ्चालनमा रहेको छ । विसं  २०७८ देखि विकास अध्ययन तथा प्रायोगिक विज्ञान सङ्कायअन्तर्गत देवदहमा स्नातकोत्तर तहका तीन कार्यक्रम सञ्चालनमा छन् ।

रजिष्ट्रार आचार्यले विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि देवदहमा ९२ बिघा जमिन नेपाल सरकारबाट प्राप्त भएको र सो जमिनमा गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधारको प्रक्रिया थालिएको बताए । 

बुटवल–१२ नयाँगाउँमा करिब ६ बिघा जमिनमा सिटी क्याम्पसका पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ । “कानुन सङ्कायमा स्नातकोत्तर तथा बुटवलमा चाइनिज भाषा र लुम्बिनीमा कोरियन भाषा कक्षाको योजना बनाएका छौँ तर बजेट अभावका कारण समस्या भएको छ”, उनले भने ।

अघिल्लो सरकारको पालामा रु २० करोड बजेट पाएको विश्वविद्यालयले अहिले सरकारले कटौती गरेका कारण रु १० करोड मात्रै पाएको रजिष्ट्रार आचार्यले बताए । प्रदेश सरकारले वार्षिक रु ५० लाख विनियोजन गरेका कारण कानुन विषयको स्नातक तहले निरन्तरता पाएको उनको भनाइ छ । 

विश्व विद्यालयमा एक हजार पाँच सयभन्दा बढी विद्यार्थी छन् भने विद्यावारिधिका लागि १३ र स्नातकोत्तरमा नौजना विदेशी विद्यार्थीहरु अध्ययनरत छन् । विश्व विद्यालयबाट सम्बन्धन लिई आठ कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै