• २०८१ बैशाख ८ शनिबार

उत्कृष्ट १६ करदाता सम्मानित

kharibot

काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ ।

साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उनिहरूलाई सम्मानित गरेको हो ।

विभागका अनुसार गत वर्षको उत्कृष्ट करदाताका रूपमा व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानितभएका छन् ।

संस्थागततर्फ सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दाखिला गरेको विभागले जनाएको छ ।

त्यस्तै, निर्यात कारोबारबाट बढी आयकर तिर्नेमा श्री शिव शक्ति घ्यु उद्योग प्रालि, विशेष उद्योगतर्फ राजेश मेटल क्राफ्ट प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये ओसिबी फुड्स एण्ड फिड्स प्रालिलाई सम्मानित गरिएको छ । बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये नबिल बैंक लिमिटेड, बिमा व्यवसायमध्ये नेपाल पुनःबिमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि र पर्यटन व्यवसायमध्ये मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको विभागले जनाएको छ । त्यसैगरी वस्तु तथा व्यापारको कारोबारमध्ये हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेड, मध्यमस्तरीय करदातामध्ये नेपाल धितोपत्र विनिमय बजार लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, रेमिटेन्स तथा मनि ट्रान्सफरमध्ये आइएमई लिमिटेड र सबैभन्दा बढी कूल आन्तरिक राजस्व दाखिला गर्नेमा सूर्य नेपाल प्रालिलाई सम्मानित गरिएको हो ।

विसं २०६७ देखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गरेको कम्पनीका रूपमा गोर्खा ब्रुअरी प्रालिलाई सम्मानित गरिएको छ ।

विभागले कर दिवसका अवसरमा १० जना कर्मचारीलाई पनि सम्मानित गरेको छ ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई पनि सम्मानित गर्दै आएको छ ।

यस वर्ष चुनाव आचारसंहिता लागू भएका कारण विभागले सम्मान वितरण कार्यक्रम आज राखेको हो । विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय रहेका छन् ।

यस वर्षको कर दिवसको नारा ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ रहेको छ ।

स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४८ लाख नाघ्यो

विभागका अनुसार गत असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ ।

विसं २०७८ असार मसान्तसम्ममा यस्तो सङ्ख्या ४० लाख ४९ हजार एक सय नौ रहेको थियो । अर्थात् गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै सात लाख ६३ हजार छ सय आठ करदाता थपिएका छन् । अब व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता रहेका छन् । गत आर्थिक वर्षमा व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान) तर्फ दुई लाख ११ हजार आठ सय ६६ करदाता र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ पाँच लाख ९६ हजार तीन सय ७२ करदातालाई करको दायरामा ल्याइएको विभागले जनाएको छ ।

सरकारको गत आर्थिक वर्षमा कूल राजस्व सङ्कलन रु १० खर्ब ६७ अर्ब ९५ करोड रहेको थियो । जसमा आन्तरिक राजस्वको हिस्सा मात्रै ४४ प्रतिशत बराबर रहेको छ।

आन्तरिकतर्फ रु पाँच खर्ब ३७ अर्ब ९४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारको रहेकामा रु चार खर्ब ८३ अर्ब ४८ करोड असुली भएको थियो ।

जुन वार्षिक लक्ष्यको ८९ दशमलव ८८ प्रतिशत बराबर हो । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व वृद्धिदर १२ दशमलव ५९ प्रतिशतले बढी हो ।गत आर्थिक वर्षमा आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी आयकरको ४७ दशमलव ४२ प्रतिशत योगदान रहेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करको योगदान २३ दशमलव ९६ प्रतिशत र अन्तःशुल्कको योगदान २१ दशमलव ३० प्रतिशत रहेको छ ।

ब्याज करको योगदान पाँच दशमलव ११ प्रतिशत छ भने बहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा करको अंश एक दशमलव ३० प्रतिशत र शिक्षा शुल्क कर शून्य दशमलव २६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा ठूला करदाता कार्यालयबाट ३८ प्रतिशत, मध्यमस्तरीय करदाता कार्यालयबाट छ प्रतिशत तथा आन्तरिक राजस्व कार्यालयबाट ५६ प्रतिशत आन्तरिक राजस्व सङ्कलन भएको विभागले जनाएको छ । त्यसैगरी गत आर्थिक वर्षको अनुमानित राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (उत्पादन मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोडसँगको तुलनामा कर राजस्वको योगदान २० दशमलव २९ प्रतिशत रहेको छ । जसमा मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कको अनुपात क्रमशः छ दशमलव ४८ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत र तीन दशमलव ४४ प्रतिशत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै