• २०८१ बैशाख ८ शनिबार

यी चर्चित खेलाडी जो विश्वकप खेल्ने टिममा परेनन्

kharibot

काठमाडौँ । विश्वकप फुटबल नजिकै गर्दा विश्वकप खेल्ने टिम र खेलाडी बारेको चासो पनि उत्तिकै बढेको छ । यसैक्रममा सहभागी टिमहरुले अ-आफ्नो टिम घोषणा गरिरहेका छन् ।

विश्वकपमा विश्व फुटबलका केहि उत्कृष्ट खेलाडीहरुले आफ्नो देशको टिममा स्थान बनाउन असफल भएका छन् । व्यावसायिक फुटबलमा सफल केहि खेलाडीहरुले कतार विश्वकप गुमाएका छन् । यस रिपोर्टमा विश्वकप खेल्ने आफ्नो देशको टिममा स्थान बनाउन नसकेका वा प्रशिक्षकले नजरअन्दाज गरेका केहि खेलाडीको बारेमा चर्चा गर्दैछौं ।

यस सूचीमा सबै भन्दा पहिलो नाम स्पेनका चर्चित गोल किपर डेभिड डी गा को रहेको छ । ३२ बर्षिय डी गा लाई स्पेनको विश्वकप टिममा समावेश गरिएको छैन । हाल म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका डी गा लाई विश्वकै उत्कृष्ट गोल किपर मध्ये एक मानिन्छ । स्पेनका प्रशिक्षक लुइस इनरिकले उनलाई नजर अन्दाज गर्दै उनै सिमोन, डेभिड राया र रोबेर्ट सान्चेजलाई स्पेनको टिममा समावेश गरेका छन् । डी गा ले स्पेनका लागि अहिलेसम्म ४५ खेल खेलेका छन् र उनले स्पेनका लागि अन्तिम खेल २०२० मा खेलेका थिए ।

त्यस्तै यस सूचीमा स्पेनकै भेट्रान डिफेन्डर सर्जियो रामोस पनि रहेका छन् । हाल पिएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका ३६ बर्षिय रामोसलाई पनि कतार विश्वकपमा खेलेको देख्न पाइने छैन । उनी यस सिजनमा पिएसजीको टिममा लगातार खेलिरहेका छन् भने उनको प्रदर्शन पनि राम्रो रहेको थियो तर स्पेनका प्रशिक्षक इनरिकले उनलाई विश्वकप टिमबाट नजरअन्दाज गरेका छन् । स्पेनका लागि अहिलेसम्म १८० खेलमा २३ गोल समेत गरेका रामोसले पछिल्लो पटक २०२१ मा राष्ट्रिय टिमका लागि खेलेका थिए । रामोस स्पेनको २०१० को विश्वकप र २००८ र २०१२ को युरोकप जित्ने टिमका महत्वपूर्ण सदस्य थिए ।

यस सूचीमा ब्राजिलका फरवार्ड रोबेर्ट फिर्मिनो पनि रहेका छन् । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने ३१ बर्षिय फिर्मिनोलाई ब्राजिलका मुख्य प्रशिक्षक टिटेले विश्वकप खेल्ने टिममा समावेश गरेका छैनन् । ब्राजिलका लागि अहिलेसम्म ५५ खेल खेल्दै १७ गोल गरेका फिर्मिनो ब्राजिलले २०१९ को कोपा अमेरिका जित्ने टिमका महत्वपूर्ण सदस्य थिए । उनले लिभरपुलका लागि यस सिजनमा अहिलेसम्म २० खेल खेल्दै ८ गोल गरेका छन् । तर प्रशिक्षक टिटेले उनीमाथि विश्वास देखाउन सकेनन् ।

त्यस्तै ईङल्याण्डका दुई फरवार्डले पनि विश्वकपमा खेल्न नपाउने भएका छन् । जसमा हाल एएस रोमाबाट खेलिरहेका टामी अब्राहीम र म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका जाडोन सान्चो रहेका छन् । अब्राहीमले रोमामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । २५ बर्षिय अब्राहीमले गत सिजनमा रोमाका लागि २७ गोल गरेका थिए र रोमालाई युइएफए कन्फेरेन्स कप जिताउन भूमिका खेलेका थिए । त्यस्तै यस सिजनमा अब्राहीमले रोमाका लागि ४ गोल गरेका छन् । अब्राहीमले ईङल्याण्डका लागि अहिलेसम्म ११ खेल खेल्दै ३ गोल गरेका छन् । 

त्यस्तै सान्चोलाई पनि ईङल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले नजर अन्दाज गरेका छन् । २२ बर्षिय सान्चोले ईङल्याण्डका लागि अहिलेसम्म २३ खेल खेल्दै ३ गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडमा  यस सिजनमा १४ खेल खेल्दै ३ गोल गरेका सान्चोले पनि कतार विश्वकप गुमाएका छन् ।

त्यस्तै जर्मनीका सेन्टर ब्याक म्याट्स हुम्मेल्सले पनि विश्वकप खेल्ने टिममा स्थान बनाउन असफल भएका छन् । ३३ बर्षिय बोरुसिया डोर्टमण्डका खेलाडी हुम्मेल्सलाई जर्मनीका प्रशिक्षक ह्यान्सी फ्लिकले नजरअन्दाज गर्दै विश्वकप टिमको घोषणा गरेका छन् । हुम्मेल्सले जर्मनीका लागि ७६ खेलमा ५ गोल गरेका छन् भने उनी २०१४ मा विश्वकप जित्ने जर्मनीको टिमका महत्वपूर्ण सदस्य थिए ।

त्यस्तै स्पेनका मिडफिल्ड थिआगो अल्कान्तारा, नेदरल्याण्डसका २० बर्षिय मिडफिल्डर रायन ग्राभेनबेर्च, आर्सनलबाट खेल्ने ब्राजिलका गाब्रियल मागालहाएज, रियल म्याड्रिडबाट खेल्ने फ्रान्सका फेर्लान्ड मेन्डी, ईङल्याण्डका फिकायो टोमोरीलगायतलाई विश्वकप टिममा समावेश गरिएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै