• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप फुटबल गाइड: कस्तो छ समुह जी ?

kharibot

काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल नजिकिदै गर्दा यस बारे विश्वभरका फुटबलप्रेमीहरुको चासो बढिरहेको छ । नोभेम्बर २० देखि शुरु हुने विश्वकप फुटबलका सबै ८ समुहमा रहेका देशहरुको प्रोफाइल र विश्लेषण प्रस्तुत गर्दैछौं । जस अन्तर्गत यस रिपोर्टमा समुह जी को विवरण यस रिपोर्टमा प्रस्तुत गरेका छौं ।

यस समुहमा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन रहेका छन् । यस समुहको महिलो खेल नोभेम्बर २४ मा स्वीट्जरल्याण्ड र क्यामरुनबीच हुदै छ भने दोस्रो खेल नोभेम्बर २५ मा ब्राजिल र सर्बियाबीच हुने छ ।

त्यसैगरी तेस्रो खेल क्यामरुन र सर्बियाबीच तथा ब्राजिल र स्वीट्जरल्याण्डबीच नोभेम्बर २८ मा हुने छ । त्यसैगरी यस समुहको पाँचौं र छैटौं खेल डिसेम्बर ३ मा सर्बिया र स्वीट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीच हुने छ ।

ब्राजिल

ब्राजिल अहिलेसम्मका सबै २१ विश्वकपमा सहभागी भएको एक मात्र देश हो । यस पटक ब्राजिल २२औँ पटक विश्वकपमा सहभागी हुदै छ । ब्राजिलले यसअघि १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरि ५ पटक विश्वकपको उपाधि जितेको छ ।

हाल फिफा वरियतामा शिर्ष स्थानमा रहेको ब्राजिल यस विश्वकपको प्रबल दाबेदार देश मध्ये एक हो ।

ब्राजिल टिटेको प्रशिक्षणमा कतार विश्वकपमा सहभागी हुदै छ । ६१ बर्षिय टिटे २०१६ देखि नै ब्राजिलको मुख्य प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा ब्राजिलले अहिलेसम्म ७६ खेल खेलेको छ भने ५७ जित र १४ बराबरी खेलेको छ । त्यस्तै ५ खेलमा हार बेहोरेको छ ।

उनको नेतृत्वमा ब्राजिलले २०१९ को कोपा अमेरिका जितेको थियो । गत विश्वकपमा ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

ब्राजिलमा धेरै स्टार खेलाडीहरु छन् । भिनिसियस जुनियर, एन्टोनी, गाब्रियल जिसस, गाब्रियल मार्टिनेली जस्ता स्टार खेलाडी भएपनि विश्वकपमा सबैको नजर पिएसजीबाट खेल्ने नेइमारमाथि हुने छ ।

यस सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेइमार कतार विश्वकपमा चम्किने संकेत पनि गरेका छन् । नेइमारले ब्राजिलका लागि अहिलेसम्म १२१ खेलमा ७५ गोल गरेका छन् । यस विश्वकपमा नेइमारले ब्राजिलका लागि सर्बाधिक गोल गरेका पेलेको रेकर्ड तोड्ने विश्वास गरिएको छ । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए । अहिले नेइमार पेलेभन्दा २ गोलले पछाडी रहेका छन् ।

सर्बिया 

सर्बिया योसहित १२औं पटक विश्वकप फुटबलमा सहभागी हुदै छ । सर्बियाको विश्वकपमा उत्कृष्ट प्रदर्शन सन् १९३० र १९६२ मा रहेको थियो । दुवै विश्वकपमा सर्बियाले चौथो स्थान हासिल गरेको थियो ।

हाल फिफा वरियतामा २१औं स्थानमा रहेको सर्बिया ड्रागन स्टोजकोभिकको प्रशिक्षणमा विश्वकप खेल्दै छ । स्टोजकोभिक २०२१ देखि सर्बियाको मुख्य प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा सर्बियाले अहिलेसम्म २० खेल खेलेको छ, जसमा १३ जित र ४ बराबरी खेलेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

सर्बियाका लागि स्टार खेलाडी युभेन्टसबाट खेल्ने दुसान भ्लाहोलिक र उपकप्तान समेत रहेका फुलह्यामबाट खेल्ने अलेकजान्डर मिट्रोभिक हुन् । भ्लाहोलिकले सर्बियाका लागि अहिलेसम्म १६ खेलमा ८ गोल गरेका छन् भने मिट्रोभिकले ७६ खेलमा ५० गोल गरेका छन् । 

स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्ड १२औं पटक विश्वकप फुटबलमा सहभागिता जनाउदै छ । विश्वकपमा स्वीट्जरल्याण्डको अहिलेसम्म उत्कृष्ट प्रदर्शन १९३४, १९३८ र १९५४ मा क्वाटरफाइनलसम्म पुग्नु हो ।

हाल फिफा वरियतामा १५औं स्थानमा रहेको स्वीट्जरल्याण्ड मुराट याकिनको प्रशिक्षणमा विश्वकपमा सहभागी हुदै छ ।  स्वीट्जरल्याण्डका पुर्व खेलाडी समेत रहेका ४८ बर्षिय याकिन २०२१ देखि स्वीट्जरल्याण्डको मुख्य प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा स्वीट्जरल्याण्डले १५ खेल खेलेको छ, जसमा ७ जित र ४ खेल बराबरी खेलेको छ भने ४ खेलमा हार बेहोरेको छ ।

त्यसैगरी स्वीट्जरल्याण्डका लागि स्टार खेलाडीमा आर्सनलबाट खेल्ने कप्तान ग्रानिट झाका र उपकप्तान रहेका जेर्डन शाकिरी रहेका छन् । ग्रानिटले स्वीट्जरल्याण्डका लागि १०८ खेल खेल्दै २६ गोल गरेका छन् भने शकिरीले १०६ खेल खेल्दै १२ गोल गरेका छन् । 

क्यामरुन

क्यामरुन विश्वकप फुटबलमा आठौँ पटक सहभागी हुदै छ । विश्वकप फुटबलमा क्यामरुनको अहिलेसम्मको उत्कृष्ट १९९० को विश्वकपमा भएको थियो ।  सो विश्वकपमा क्यामरुन क्वाटरफाइनलमा पुगेको थियो ।

हाल फिफा वरियतामा ४३औं स्थानमा रहेको क्यामरुन रिगोबेर्ट सोंग रहेका छन् । क्यामरुनका पुर्व खेलाडी समेत रहेका ४६ बर्षिय सोंग २०२२ देखि क्यामरुनको प्रशिक्षक रहेका छन् । यसअघि २०१७-१८ मा उनी क्यामरुनको केयरटेकर प्रशिक्षक बनेका थिए भने त्यसपछि उनी क्यामरुनको अन्डर २३ टिमको प्रशिक्षक थिए । २०२१ को अफ्रिकन कपमा सेमिफाइनलमा इजिप्टसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि क्यामरुनले पोर्चुगीच प्रशिक्षक टोनी कोन्सेईकाओलाई बर्खास्त गर्दै सोंगलाई प्रशिक्षक बनाइएको हो ।

क्यामरुनका लागि स्टार खेलाडीमा फ्रेन्च लिग क्लब लियोनबाट खेल्ने कार्ल टोको एकाम्बी र बायर्न म्युनिखबाट खेल्ने एरिक म्याक्सिम रहेका छन् । एकाम्बीले क्यामरुनका लागि ५० खेलमा १२ गोल गरेका छन् भने म्याक्सिमले ६८ खेलमा १८ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै