• २०८१ बैशाख ७ शुक्रबार

मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक

kharibot

मोरङ । मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढीगङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भरमुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ ।

विश्वविद्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडन सक्नुपर्ने शिक्षा पद्धतिको महसुस गरी पाँच वर्षे भावि योजना सार्वजनिक गरिएको छ । पाँच वर्षे योजनाअन्तर्गत शैक्षिक सत्र २०८०/८१ बाट स्नातक तहमा ब्याचलर इन आर्किटेक्चर र स्नातकोत्तर तहमा एमएससी  इन स्ट्रक्चरल इञ्जिनीयरिङ, शैक्षिक सत्र २०८३/८७ सम्ममा क्रमशः ब्याचलर इन बायोमेडिकल इञ्जिनीयरिरिङ, वीइ इन मेकानिकल वा अटोमोबाइल इञ्जिनीयरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेशन वा टनेल इञ्जिनीयरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनीयरिङ तथा विद्यावारिधितर्फ सिभिल इञ्जिनीयरिङ र इलेक्ट्रिकल इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले काम सुरु गरिएको छ ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आगामी दश वर्षमा विश्विद्यालयलाई दक्षिण एशियाको उत्कृष्ट बनाउने उद्देश्यले प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त र अन्तर्राट्रिय विकासक्रमसँग आबद्ध गर्नसक्ने मानव संशोधन विकास गर्ने सोचले कार्य भइरहेको जानकारी दिए ।

विश्वविद्यालयले तीन स्कुल क्रमशः इञ्जिनीयरिङ, एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्ज साइन्सेज सञ्चालन हुने उनले जानकारी दिए ।

प्रदेशको औद्योगिकरणमा सहयोग पुर्याउन यस क्षेत्रका उद्यमीको सुझावअनुसार आवश्यक पर्ने दक्ष जनशक्ति विश्वविद्यालयले उत्पादन गर्ने सहमति भएको उनले बताए ।

विश्वविद्यालयले यस वर्ष इञ्जिनीयरिङतर्फ दोस्रो शैक्षिक सत्रमा सिभिल इञ्जिनीयरिङतर्फ ४८  तथा इलेक्ट्रकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङतर्फ २४ विद्यार्थी भर्नाका लागि यही कात्तिक ३० गतेसम्मको समय निर्धारण गरिएको जनाइएको छ । विश्वविद्यालयमा विद्यार्थी भर्ना नेपाल सरकारले तोकेको सङ्ख्याअनुसार निर्धारण गरिएको छ ।

उपकुलपति पोखरेलले प्रदेश नं १ सरकारले उपलब्ध गराएको रु २५ लाख नवीनतम अन्वेषण र अनुसन्धानका लागि कार्य सुरु गरेको जानकारी दिए ।

विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी दिनमा चिकित्सक उत्पादनका लागि जिल्लामा रहेका एक सय शय्याको अस्पताल उपलब्ध गराउन आग्रहसमेत गरेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा स्कुल अफ इञ्जिनीयरिङका डीन डा प्रचण्डमान प्रधानले वायोमेडिकल र इञ्जिनीयरिङलाई जोड्ने शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताए ।

रजिष्टार डा दिनानाथ फुँयालले विश्वविद्यालयमा विश्वस्तरको प्रयोगशाला रहनुका साथै विद्यार्थीलाई ५०-५० प्रतिशत विधि र प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरेको बताए ।

विश्वविद्यालयले यही आर्थिक वर्षदेखि स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्थ साइन्सेज अन्तर्गत उद्योगी फार्मेसी र विश्व स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पब्लिक हेल्थ विषयमा अध्यापन सुरु गर्ने जनाएको छ । विश्वविद्यालय विसं २०७६ मा स्थापना भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै