• २०८१ बैशाख ८ शनिबार

दशैँको चौथो दिन: आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

kharibot

काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली  शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो ।

चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । 

आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवीस्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् ।

दूर्गा कवच मन्त्र–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । यिनै  दुर्गाका नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।

बडादशैँका १५ दिनमध्ये नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै