• २०८१ बैशाख ११ मंगलबार

लोप हुँदै चिउरी पेल्ने कोल

kharibot

प्रतिनिधि तस्बीर

घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल सङ्कलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उहाँको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्दथे । 

पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु पाउने भएपछि चिउरी बाट निकालेको घ्यु पाइन छाडेको छ । परम्परागतरुपमा पेलेर तेल निकाल्दा दुःख धेरै हुने र दुःखअनुसारको आम्दानी नहुने भएपछि काम छोड्दै गएको बताउछन् । उनका अनुसार करिब १० वर्षअघिसम्म मौलाकोटवासीका लागि चिउरीको घ्यु पेल्ने काम प्रमुख आम्दानीको स्रोत थियो तर अहिले अधिकांशले छोडिसकेका छन् । 

मौलाकोटमा उत्पादन भएको चिउरीको घ्यु घोराही, तुलसीपुरलगायतका सहरमा बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने गरेको अनुभव सुनाउछन् । 

जङ्गलमा फल्ने फल ल्याउन पैसा नलाग्ने भए पनि मेहनत धेरै लाग्ने भएका कारण पछिल्लो समय अधिकांश मानिसले चिउरीको फलबाट घ्यु निकाल्ने पेसा छोड्दै गएको मौलाकोटकै वीरबहादुर घर्तीमगर बताउछन् । स्वास्थ्यका लागि फाइदाजनक र उत्पादन भएको घ्यु बिक्रीमा समस्या नभए पनि चिउरी पेल्न वैकल्पिक माध्यम नहुँदा नयाँपुस्ताले ध्यान नदिएको उनी बताउछन् । 

स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । 

चिउरीको दाना पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर घ्यु निकाल्ने गरिँदै आएको वीरबहादुर बताउछन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै