• २०८१ बैशाख ७ शुक्रबार

सीप सिक्दै, व्यवसाय सम्हाल्दै कञ्चनपुरका महिला

kharibot

भीमदत्तनगर । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको तालीममा कृष्णपुरकी राधा चौधरी सहभागी हुनुभयो । 

मुक्त कमैया बस्तीमा अति विपन्न परिवारकी राधाले घरेलु कार्यालयबाट बंगुर, कुखुरा र बाख्रापालनसम्बन्धी लिएको एकमहिने तालीमले उहाँको जीवनमै परिर्वतन ल्याइदिएको छ । तालीम सकिएपछि कृष्णपुर–५ की राधाले शुरुआतमा तीनवटा बंगुर किनेर बंगुरपालन थाल्नुभयो । ऊर्जावान् समय बंगुरपालनमा खर्चिनुभएकी राधाले हाल वार्षिक २०० भन्दा बढी बंगुर बिक्री गर्दैआउनुभएको छ । 

उहाँले पछिल्लो समय आफ्नै नामबाट फार्मसमेत घरेलु कार्यालयमा दर्ता गर्नुभएको छ । बंगुरपालनबाट आर्थिक अवस्था सुधारसँगै समाजमा प्रतिष्ठित महिलाका रुपमा चौधरीले परिचय बनाउनुभएको छ । 

“बंगुरपालनकै कारण राष्ट्रिय स्तरमा कृषि क्षेत्रले सम्मान पनि दियो”, उहाँले भन्नुभयो, “सक्रियताकै कारण गाउँलेले बडघरको जिम्मेवारीसमेत दिएका छन् ।” उहाँले वार्षिक रु तीन लाख आम्दानी हुने गरेको बताउनुभयो । 

“आम्दानीले व्यवसाय बढाउँदैछ”, चौधरीले भन्नुभयो, “आम्दानीबाटै एक कट्ठा जग्गा पनि जोडे ।” व्यवसायले छोरा–छोरीको पढाइसँगै परिवारको खर्चसमेत चलिरहेको चौधरीको भनाइ छ । 

घरेलु तथा सामान उद्योग कार्यालयबाट तालीम लिएर चौधरीले बेतबाँसको कुर्ची, टेबल, मुढा, दराज र स्टुल बनाएर बिक्री गर्दै आउनुएको छ । 

यस्तै, घरमै व्यवसाय सञ्चालन गरिरहनुभएका कृष्णपुर नगरपालिका–६ का नत्थुराम चौधरीले उत्पादित सामग्री स्थानीय बजारमै खपत हुने गरेको बताउनुभयो । “मासिक रु १० हजारदेखि रु १५ हजार आम्दानी हुन्छ ।” कृष्णपुर–६ का वडाध्यक्षसमेत रहेका चौधरीले भन्नुभयो, “फर्सुदको समयमा बेतबाँसका सामाग्री बनाउँछु ।” 

यहाँका स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि घरेलु तथा सामान उद्योग कार्यालय कञ्चनपुरले यहाँका सबै स्थानीय तहसँग समन्वय गरी जनचाहनाअनुसार विभिन्न सीपमूलक तथा आयमूलक तालीम दिँदैआएको कार्यालयका प्रमुख खेमप्रसाद चौधरीले जानकारी दिनुभयो । तालीम लिएकामध्ये अधिकांशले आफ्नो व्यवसाय सम्हाल्दै आएका छन् । 

पछिल्लो समय भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबाहेक सबै स्थानीय तहमा सिलाइकटाई, हाउस वायरिङ, सिकर्मी, डकर्मीलगायत तालीम सञ्चालन भइरहेको छ । भीमदत्त र महाकाली नगरपालिकामा तालीम सञ्चालनको तयारी हुँदैछ । तालीममा महिला, दलित, अपांग, मुक्त कमैयालगायत सबैलाई समेटिएको छ । 

कार्यालयका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चारवटा स्थानमा तीन महिने सिलाइकटाई तालीम सञ्चालन भइरहेको छ । तालीममा ४५ जना सहभागी छन् । कृष्णपुर नगरपालिकामा मोटरसाइकल मर्मत, सिकर्मी र सिलाइकटाई तालीममा ३० जना सहभागी छन् । 

पुनर्वास नगरपालिकामा सिलाइकटाई, हाउस वायरिङ र मोटरसाइकल मर्मतको तालीम सञ्चालन भइरहेको छ । उक्त तालीममा ४० जना सहभागी छन् । पुनर्वासमा दलित, मुक्त कमैया र हलियालाई लक्षित गरी दुईवटा स्थानमा सिलाइकटाई तालीम थालिएको छ । 

वेदकोट नगरपालिकामा पनि सिलाइकटाई तालीम सञ्चालन भइरहेको छ । वेदकोटमा ३० जना सहभागी छन् । बेलौरी नगरपालिकामा २० जनाले सीपमूलक तालीम लिइरहेका छन् । उक्त नगरपालिकामा सिलाइकटाई र डकर्मी तालीम सञ्चालनमा छ । 

त्यसैगरी, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा दुई÷दुई वटा तालीम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । त्यहाँ उद्यमशीलता विकास तालीम सञ्चालन भइरहेको छ । 

“सीपमूलक तालीम लिनेमा अधिकांश महिला छन्,” चौधरीले भन्नुभयो– “महिला सिलाइकटाईतर्फ बढी आकर्षित छन् ।” हाउसवायरिङ, मोटरसाइकल मर्मत, डकर्मी र सिकर्मी तालीम लिन पुरुष बढी इच्छुक देखिएका उहाँको भनाइ छ । प्रशिक्षार्थीले तालीम लिनुअघि व्यवसाय गर्ने प्रतिबद्धता जनाउने गरेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै