• २०८१ बैशाख १४ शुक्रबार

दाङमा वेशभूषा संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण

kharibot

घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा मगर जातिहरुको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ ।

मगर समुदायले आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

सङ्ग्रहालयमा परम्परागत धनुष, नरसिङ्गा, पञ्चेबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दिया टुक्की, ठेकी, जाबे झोला, तुला जस्ता अन्य घरेलु उत्पादनका वस्तुलगायत मगर जातिहरुले हातले बुनेका कपडाहरु राखिएको छ । त्यस्तै मगर समुदायसँग जोडिएका र प्रयोग गर्दै आएका वस्तु तथा सीप र उनीहरुसँग जोडिएका कला, संस्कृति, वेशभूषालगायतका सामग्री सङ्ग्रहालयमा राख्न सङ्कलन गर्न पनि शुरु गरिएको छ । मौलिकता झल्काउने सामग्री उपलब्ध गराउन सबैमा आग्रह गरिएको मगर सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शीतलाल पुन मगरले बताए ।

बाहिर जति आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने कुरा गरे पनि व्यावहारिकरूपमा प्रयोगमा ल्याउन नसक्नु मुख्य चुनौती बनेको उनले बताए । आधुनिकतासँगै आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई बिर्सन नहुने उनको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले रु आठ लाख उपलब्ध गराएको छ । त्यही रकमबाट सङ्ग्रहालय निर्माण गरिएको हो ।

अहिले केही सजावट गरेर आंशिकरूपमा मगर संस्कृति झल्कने खालका सामग्रीहरु राखिएको नेपाल मगर सङ्घ दाङका अध्यक्ष खलु पुन मगरले बताए ।

उनले मगर समुदायको बाहुल्य भएका रोल्पा, रुकुमजस्ता ठाउँहरुमा मगर परम्परा बोकेका सामग्रीहरुको खोजी कार्य भइरहेको बताए । मगर जातिको बाहुल्य रहेका रोल्पा, रुकुम जस्ता ठाउँबाट बसाइसराइ गरेर दाङमा आउने बढ्दै गएकाले सङ्ग्रहालयमा मगर समुदायको पहिचान दिलाउने सामग्रीबाट उनिहरु पनि प्रेरित हुनेछन भन्ने विश्वास लिएको उनको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै