• २०८१ बैशाख १४ शुक्रबार

‘गिरी सरल जीवनशैलीका गान्धीवादी नेता’

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वर्गारोहणको १३औँ दिन आज कांग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्दैछ ।

समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य गिरीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षका उमेरमा यही भदौ ४ गते निधन भएको थियो ।   

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोवद्र्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मिएका उनि एक सरल जीवनशैलीका गान्धीवादी नेता थिए । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका नेता गिरी समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्थे ।

राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याता उनि ग्रामीण किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्थे । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उनि हरदम क्रियाशील रहे । नेता गिरी नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आवद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहे ।

सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहे । उहाँ कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षीबीच पनि लोकप्रिय थिए ।

दार्शनिक नेता गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको कांग्रेसले उल्लेख गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ ५ गते बसेको आकस्मिक बैठकले उनिप्रति उच्च सम्मान प्रकट गर्दै उनको स्वर्गारोहणको १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवङ्गत नेता गिरीप्रति सम्मान प्रकट गर्दै भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको थियो । 

बहुआयामिक व्यक्तित्व गिरीको स्वर्गारोहणको तेह्रौँ दिनमा आज कांग्रेस केन्द्रीय समितिले शोकसभाको आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालगायत कांग्रेसका शीर्षनेता सहभागी हुने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै