• २०८१ बैशाख ७ शुक्रबार

उपराष्ट्रपति पुनले गरे मध्यपुर थिमिको भैरव नाच अवलोकन

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले भक्तपुरको मध्यपुर थिमिस्थित लायकु भैलः नाच अवलोकन गरेका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारीमा शनिबार राति पुगेर उनले करिब एक घण्टासम्म नाच अवलोकन गरेका हुन् । ऐतिहासिक र धार्मिक महत्व बोकेको नाच अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वमध्ये पहिलो हुन् ।

यो नाच प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलहरुमा प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा, भस्मासुर र अष्टमातृको गण नाच प्रदर्शन भइरहेको छ । 

नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्राउने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रवर्द्धन फोरमसमेत गठन गरिएको छ । फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासनमन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकलन गर्न औपचारिक रुपमा निम्तो दिएको जनाएको छ । यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकको लागि स्थानीयस्तरका पसल तथा बास बस्नको लागि होटल र लजको व्यवस्थापन गरिएको जनाइएको छ । 

थिमिको तत्कालीन दरवारबाट निकालिने भएर मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ । नेपाल संवत ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुवात गरेको इतिहास छ । किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीकै आज्ञा बमोजिम नाच सुरु गरेको हो । 

भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा पाँच देवगणहरुको सहभागिता रहन्छ । शनिबारदेखि सुरु भएको नाच प्रत्येक राति करिव ८ः३० बजेदेखि सुरु हुन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै