• २०८१ बैशाख १२ बुधबार

रोनाल्डो प्रिमियर लिगको पहिलो खेलमा बेन्चमा !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्ने विषय स्पष्ट नभइरहेको बेला प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा उनी बेन्चमा रहने भएका छन् ।

युनाइटेडको आगामी आइतबार हुने ब्राइटनविरुद्धको सिजनको पहिलो खेलमा रोनाल्डो बेन्चमै रहने द सनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

युनाइटेडको प्रि-सिजन अन्तर्गतको अन्तिम खेलमा घरेलु मैदानमा रायो भल्लेकानोविरुद्ध पहिलो हाफ मात्र खेलेका रोनाल्डो लामो समय मैदान बाहिर रहेको भन्दै प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई पहिलो खेलमा बेन्चमा राख्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रायोविरुद्धको खेलमा पहिलो हाफपछि रोनाल्डोलाई नखेलाएपछि उनी खेल जारी रहेको बेला स्टेडियम छोडेको विषय अहिले पनि चर्चामा रहेको छ । 

प्रशिक्षक ह्यागले रोनाल्डोको व्यवहार बारे प्रतिक्रिया दिदै कुनै पनि खेलाडीको त्यस्तो व्यबहार आफुलाई स्वीकार्य नहुने बताएका छन् ।   

मिडिया रिपोर्टका अनुसार रोनाल्डो अहिले पनि युनाइटेड छोड्ने प्रयासमै रहेका छन् । उनका सुपर एजेन्ट जर्ज मेन्डिजले रोनाल्डोका लागि नयाँ क्लब खोजि कार्य जारी राखेको बताइएको छ । यस अघि रोनाल्डोले युनाइटेड व्यवस्थापनसँग छलफल गर्दै आफुलाई प्रतिद्वन्दी क्लबबाट अफर आएको जानकारी दिदै आफ्नो सम्झौताबाट रिलिज गर्न आग्रह गरेको खबर आएको थियो । तर यस बारेमा युनाइटेडले अहिलेसम्म ठोस निर्णय लिएको जानकारी आएको छैन ।

पछिल्ला रिपोर्ट अनुसार रोनाल्डो उनको वाल्यकालको क्लब स्पोर्टिंग सिपी जान सक्ने पनि बताइएको छ । स्पोर्टिंगले रोनाल्डोलाई एक सिजनका लागि लोनमा लैजान सक्ने बताइए पनि यस बारेमा स्पष्ट अपडेट आएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै