• २०८१ बैशाख ६ बिहीबार

राजनीतिक खिचातानीले वडा कार्यालयमा ताला

kharibot

मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ को परिवर्तनशील वडा कार्यालयमा विगत २ हप्तादेखि ताला लागेको छ । राजनीतिक खिचातानीले गर्दा उक्त वडा कार्यालयमा ताला लागेको हो । वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिबीच एक आपसमा मनमुटाब हुँदा १२ नम्बर वडा कार्यालयमा ताला लागेको बताइएको हो । 

छायानाथ रारा नगरपालिकाले केही दिन अगाडी एक सूचना जारी गर्दे करार कर्मचारीलाई हाजिरी नगर्न नगरपालिकाले निर्देशन दिएको थियो । उक्त निर्णय लाई मध्यनजर गर्दे नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित आइतुराम रोकायाले करार कर्मचारी हाजिर नगर्न भनी वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बताए । 

उक्त वडामा नेकपा एमालेका वडा अध्यक्षसहित ३ जना र नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य रहेका  छन् । वडा अध्यक्षले करार कर्मचारी लाई हाजिर गर्न नदिई आफू पायक कर्मचारी राख्न खोजेकाले त्यस्तो गर्ने नहुने र पुराना करार कर्मचारी भए पनि नगरपालिकाको आदेश अनुसार करार कर्मचारीलाई हाजिर गराइनु पर्ने आफ्नो माग भएकाले दोस्रो ताला आफूले लगाएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य रुनउदीप ऐडीले बताए ।

विशेष गरेर दुवै पक्ष लाई निहाल्दा करार कर्मचारीको विषयमा निहुँ गरेता पनि राजनीतिक खिचातानीले यस्तो भएको पाइएको छ ।

यसभन्दा अघि तीन जना करार कर्मचारीले सेवा प्रवाह गरिरहेका थिए । नगरपालिकाले करार कर्मचारी लाई हाजिर नगर्ने सूचना जारी गरेपछि करार कर्मचारीलाई वडा अध्यक्षले हाजिर गर्न नदिएका कर्मचारी हंसलाल बुढाले बताए ।

वडा कार्यालयमा ताला लगाइएको र अहिले वडा अध्यक्षले आफ्नो नजिकका गोख बहादुर नेपालीलाई सहयोगी बनाई सेवा प्रवाह गरिहरेका छन् । सेवा प्रवाह वडा कार्यालयबाट नभई वडा अध्यक्षको घर बाट सदरमुकाम गमगढीको सम्पर्क कार्यालयबाट भइरहेको बताइएको छ । स्थानीय वडावासीका अनुसार राजनीतिक खिचातानी र दुई हप्तादेखि वडा कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । सामान्य वडा सिफारिस , नागरिकताको सिफारिस, योजना लगायत अन्य सिफारिस नपाएको स्थानीय आइतु सिहं कामीले बताए । 

यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार परिवर्तनशील वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बारेमा आफूलाई जानकारी नभएको र बुधवार स्वास्थ्य संस्था, वडा कार्यालयको छड्के अनुगमनमा जाँदा उक्त वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको भेटाएको बताउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै