• २०८१ बैशाख ७ शुक्रबार

पुरानै धारमा सोझियो कोसी, प्रभावितको उद्धार हुँदै

kharibot

काठमाडौँ । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । 

विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो । पँैतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । स्थानीय भन्छन्– “हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएको ? आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?”  

यसरी ३४ वर्षपछि कोसीले पुरानै धार सोझ्याएको छ । स्थानीयको स्मरणमा २०४५ सालको भूकम्पपछि कोसीले बाटो बिराएर आफ्नो धार अन्यत्रै सोझ्याएको थियो । त्यसपछि त्यस्तै २०५०-५२ सालतिरबाट त्यस क्षेत्रमा बस्ती बस्न सुरु भएको थियो । अहिले त्यहाँ भरिभराउ घर छन् । यहाँको जनसङ्ख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । अब अहिले आएर कोसीले फेरि उही पुरानो भङ्गालो पछ्यायो र बस्तीभित्रै छिर्यो । 

यसका कारण त्यस आसपास क्षेत्रका झण्डै दुई हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब एक हजार परिवारलाई उद्धार गरिएको छ । 

अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको उनले जानकारी दिए । बेलका नगरपालिकाको वडा नम्बर १, २, ८ र ९ मा कोसीको एउटा भङ्गालो पसेको छ । गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गर्न सफल भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सो क्षेत्रमा पानीको बहाव रोक्न भन्दै तीन हप्ताअघि रु २० लाख पठाएर काम गरिएको थियो । त्यहाँ बनाइएको छेकबारले केही काम गरे पनि त्यसको तल्लो भागबाट कोसी पसेको उनले जानकारी दिए । “विसं २०४५ अघि हिँडेको क्षेत्रबाट पुनः कोसी बगेको, त्यहाँको खेतीबाली पुरेको छ, घर पनि डुबानमा छन्, केही टापुमा मानिसहरु असुरक्षित रहेका जानकारी आएको र उद्धार जारी रहेको छ”, पोखरेलले भने, “उद्धार गरिएकाको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।” 

आज बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाणले बस्ती स्थानान्तरदेखि उद्धार, राहत कार्य तीव्र बनाउन र आवश्यक परेमा हेलिकप्टर परिचालन गर्ने गरी तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका थिए । 

सोहीअनुसार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको जनाइएको छ । खाद्यान्न, टेन्ट, पिउने पानीलगायत सबै व्यवस्थापनका लगि परिचालन भइसकेको पनि पोखरेलले जानकारी दिए । सुरक्षाकर्मीले र्याफ्टिङको सहयोगमा मानिसको उद्धार गरिरहेको छ । आवश्यकतानुसार सशस्त्र प्रहरी, सेना तथा नेपाल प्रहरी परिचालन गरिएको छ । कटान भएको क्षेत्रमा बहाव कसरी रोक्न सकिन्छ भनेर आवश्यक गृहकार्यसमेत भइरहेको पनि पोखरेलले  जानकारी दिए । 

विगत केही दिनदेखिको भारी वर्षाले नेपालका अन्य केही जिल्लासमेत प्रभावित बनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बासस्थानको आवश्यक व्यवस्थापनमा समन्वयात्मक रुपमा कार्य भइरहेको जानकारी दिए । मङ्गलबार चितवनस्थित नारायणी नदीमा समेत बहाव उच्च भएको थियो । पहिरो र गेगर खसेर नारायणगढ मुग्लिन सडक पटकपटक प्रभावित भइरहेको छ । कञ्चनपुर क्षेत्रमा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ । डा भट्टराईका अनुसार मङ्गलबार म्याग्दीमा समेत ठूलो विपद्जन्य घटना भएको छ । त्यहाँ पाँच जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । 

आज र भोलि बिहीबार पूर्वी नेपालमा वर्षा कम हुने अनुमान गरिएकाले पनि कोसीको बहाव घट्ने आशा गरिएको छ । उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादवले थप पानी परेन भने स्थानीयको व्यवस्थापनमा सहज हुने बताए । उनका अनुसार मानवीय र पशुजन्य क्षति हुन नदिन विशेष सावधानीका साथ उद्धार कार्य चलिरहेको छ । 

केही बस्तीका स्थानीय सर्न नमानेको र त्यस क्षेत्रमा स्थानीय प्रशासन र जनप्रतिनिधि पुगेपछि सार्ने क्रम जारी रहेको जनाइएको छ । अहिले भने पानी पर्ने क्रम रोकिएकाले उद्धार कार्यमा केही सहज भएको जनाइएको छ । उता कोसीको बहाव भने घटेको छैन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै