• २०८१ बैशाख ८ शनिबार

म्यान्मार र युक्रेनबारे आसियान बैठकमा बहस हुँदै

kharibot

नोमपेन । म्यान्मामा जारी हिंसा, युक्रेन युद्धलगायत दक्षिणपूर्वी एसियाली देशका साझा चासोका विषयलाई केन्द्रमा राखेर हुने बैठकका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेश मन्त्रीहरू यहाँ भेला भइरहेका छन् । 

युक्रेनमाथि रूसको आक्रमणले सृजना गरेको तनावका बीच हुन लागेको बैठकमा संयुक्त राज्य अमेरिका, चीन, रूस र अन्य विश्व शक्ति राष्ट्रका शीर्ष कूटनीतिज्ञ  सहभागी हुँदैछन् ।  युक्रेन र दक्षिणपूर्वी एसियाली राष्ट्रमा बेइजिङको बढ्दो महत्वाकांक्षाप्रति केही पश्चिमा मुलुक चिन्तित भएका छन् । 

बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रूसी विदेशमन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुँदैछन् । दुवै देशका विदेशमन्त्री एक महिनाको अन्तरालमा फेरि एउटै स्थानमा आमनेसामने हुँदैछन् । यद्यपि उनीहरूबीच भेटवार्ता हुनेनहुने भन्नेबारेमा स्पष्ट भउको छैन ।

अघिल्लो महिनाको प्रारम्भमा इन्डोनेसियाको बालीमा भएको समूह २० (जी ट्वेन्टी) का विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदा उनीहरुबीच छुट्टाछुट्टै भेट भएको थिएन । तर उनीहरूको पहिलो प्रत्यक्ष सम्पर्क रूसले युक्रेनमा आक्रमण गर्नुअघि फोनमा भएको थियो । फोनावार्ताका क्रममा विदेशमन्त्री ब्लिन्केनले मस्कोलाई अमेरिकी बन्दी ब्रिटनी ग्रिनर र पल व्हेलनलाई रिहा गर्नेसम्बन्धी सम्झौता स्वीकार गर्न आग्रह गर्नाका साथै अमेरिका–रूस सम्बन्धका विविध पक्षबारे विचारविमर्श गरेका थिए । 

आसियानका विदेशमन्त्रीहरूको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी हुँदै छन् । धेरैले बेइजिङलाई युक्रेनमा भएको द्वन्द्वको अन्त्य गर्न र म्यान्मामा सन् २०२१ को फेब्रुवरीमा भएको विद्रोह र सशस्त्र प्रतिरोधपछि त्यहाँ शान्ति र नागरिक शासन पुनर्वहालीका निम्ति मद्दत गर्न रूससँगको साझेदारी उपयोगमा जोड दिँदै आएका छन् । 

वासिङटन र बेइजिङबीच बढ्दो तनावको समयमा हुन लागेको यो बैठकलाई विश्व समुदायले सुरूचिपूर्वक हेरिरहेका छन् ।  एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आर्थिक र सैन्य प्रभावलाई अमेरिकाले पछाडि धकेल्ने प्रयास गरिरहेको छ । अझ भनौ त्यहाँ चिनियाँ प्रभाव नहोस् भन्ने अमेरिकी चाहना छ । 

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी अहिले एसिया–प्रशान्त क्षेत्रको भ्रमणमा छन् । उनले ताइवानको भ्रमण गर्ने सम्भावना पनि छ जसले अमेरिका–चीन द्वन्द्वलाई चर्काएको छ । सभामुख पेलोसीको सम्भावित ताइपेइ भ्रमणलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गत हप्ता नै चेतावनीपूर्ण भाषामा भनेका थिए- 'आगोसँग खेल्नेहरू यसबाट नष्ट हुनेछन् ।'

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले  कायम नै राखेको छ । 

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्तामा  चिनियाँ नेता सी चीनफिङले  सभामुख पेलोसीको सम्भावित ताइवान भ्रमणप्रति आपत्ति जनाएका थिए । पच्चीस वर्षभन्दा बढी समयपछि अमेरिकाबाट सबैभन्दा उच्च तहमा हुन लागेको यो भ्रमण ज्यादै विवादास्पद बनेको छ । स्वयम् सभामुख पेलोसीले पनि ताइवान भ्रमणबारे केही बताएकी छैनन् । सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले उहाँ आज राति ताइपेई पुग्ने समाचार सार्वजनिक गरेका छन् ।

सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने चिन्ताले अमेरिकी प्रशासनका अधिकारीहरू पिरोलिएका छन् । 

युक्रेनमा रूसी आक्रमण, विश्वव्यापी खाद्य र ऊर्जा मूल्यहरूमा त्यसले पारेको प्रभाव,  चीन र अमेरिकाबीच बढ्दो टकराव चिन्ताको विषय बनेको अष्ट्रेलियाको लोवी इन्स्टिच्युटका दक्षिणपूर्वी एसिया कार्यक्रमका निर्देशक सुसाना प्याटन बताउछिन् ।

सन् २०१९ पछि भौतिकरूपमा आयोजित परराष्ट्रमन्त्रीहरूको पहिलो क्षेत्रीय बैठक क्षेत्रीय सुरक्षा र समृद्धिप्रति प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण हुने बताउँदै उनले संयुक्त राज्य अमेरिका, चीन र रूसयाका लागि परस्पर संवाद गर्न र समर्थन जुटाउन उपयोगी अवसर हुने उल्लेख गरिन् । 

अमेरिकी विदेशमन्त्री ब्लिन्केन, चिनियाँ विदेशमन्त्री वाङ र रूसी विदेशमन्त्री लाभरोभले हालै धेरै देशको भ्रमण गरेर ती देशबाट आ–आफ्नो पक्षमा समर्थन जुटाउने प्रयत्न गरे । विदेशमन्त्री ब्लिन्केन कम्बोडिया भ्रमण पूरा गरी फिलिपिन्स र त्यसपछि दक्षिणअफ्रिकासहित अन्य अफ्रिकी देशको भ्रमणमा जानेछन् । 

राष्ट्रपति जो बाइडेनले गत मे महिनामा वासिङटनमा आसियान नेताहरू सम्मिलित पहिलो बैठक आयोजना गरेका थिए ।  बैठकमा उनले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सहयोगीहरूमध्ये एकलाई आसियान मुलुकका लागि राजदूतको रूपमा मनोनयन गर्ने जानकारी दिनुभएको थियो । अमेरिकाले एसिया–प्रशान्त क्षेत्रको कति महत्व दिन्छ भन्ने दर्शाउन राष्ट्रपति बाइडेनले उक्त घोषणा गरेका हुन् । 

पछिल्ला दिनमा रूसले आफ्नो ध्यान अफ्रिकामा केन्द्रित गरेको छ । चीनको ध्यान प्रशान्त क्षेत्रका टापु देशमा पुगेको छ । रूसी विदेशमन्त्रीको अफ्रिकी देशको भ्रमण र चिनियाँ विदेशमन्त्रीको प्रशान्त क्षेत्रका टापु राष्ट्रको भ्रमणपछि दक्षिणपूर्वी एसियाली देशमा यात्रा भइरहेको छ । भ्रमणका क्रममा उहाँले दक्षिण चीन सागरमा क्षेत्रीय दाबीलाई लिएर बेइजिङसँग विवादमा रहेका चार देशलाई समावेश गरेर आसियानसँगको वार्तालाई गति दिइरहेको बताएका थिए ।  

आसियानको यो बैठकमा भारत, जापान, दक्षिण कोरिया, टर्की, कतार, संयुक्त अरब इमिरेट्स, ओमान, बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडालगायत आसियानसँग साझेदारी गर्ने वा वार्ता गरिरहेका केही देशहरूलाई पनि एकै ठाउँमा ल्याएको छ । 

विशेष गरी अस्ट्रेलियाले आसियान राष्ट्रहरूको महत्वमा जोड दिएको छ । विदेश मन्त्री पेनी वोङले गत महिना अस्ट्रेलिया, अमेरिका, भारत र जापानको ‘क्वाड’ समूह र अस्ट्रेलिया,  बेलायत र अमेरिका सम्मिलित ‘औकुस’ समूहलगायत नयाँ गठबन्धनयो क्षेत्रको लाभका लागि हुनुपर्ने बताएकी थिइन् । 

म्यान्मा पनि  दश देश सदस्य रहेको आसियानको सदस्य राष्ट्र हो । सन् २०२१ मा आङ सान सुचीको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सेनाले अपदस्थ गरेको थियो । बैठकमा सैनिक शासनबाट कोही पनि उपस्थित हुनेछैनन् । सेनाले सत्ता सम्हाले यता दुई हजार एकसयभन्दा बढी प्रदर्शनकारी मारिएका छन् भने १५ हजार जना पक्राउ परेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै