• २०८१ बैशाख ८ शनिबार

रिकभर भएको सिसिटिभी फुटेज अस्पष्ट, प्रतिवेदन लेख्ने तयारीमा छानबिन समिति

kharibot

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समिति बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल भएको विषयमा सिसिटिभीमा फुटेजबाट निष्कर्षमा पुग्न असफल भएको छ ।

समितिले मंगलबारसम्मको अध्ययन र छलफलबाट बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल भएको विषयमा सिसिटिभीमा फुटेजबाट निष्कर्षमा पुग्न असफल भएको हो ।     

जेठ १४ गतेको सिसिटिभी फुटेज माग्दा अर्थमन्त्रालयले १३ दिनको मात्रै स्टोरेज क्षमता भएकाले त्यो दिनको रेकर्ड नभएको जवाफ दिएको थियो ।

विशेष समितिले मन्त्रालयको सिसिटिभीको रेकर्ड नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा रिकभरका लागि दिएको थियो । प्रयोगशालाले रिकभर गरेर दिएको विवरणमा भिडिओ प्रष्ट नदेखिएको र भिडियोमा मिति समेत प्रष्ट नदेखिएको समितिका सदस्यहरुले बताएका छन् । 

प्रयोगशालाले बुझाएको सिसिटिभी फुटेजको विवरण मंगलबार बिहान खोलिएको थियो । फुटेज अस्पष्ट भएपछि प्रयोगशालाका कर्मचारीसँग जानकारी लिदा फाइल धेरै पटक ट्रान्सफर गर्दा नबुझिने भएको जवाफ दिएको समितिका एक सदस्यले खरीबोटलाई जानकारी दिएका छन् । 

समितिका सचिव सुरेन्द्र अर्यालले मंगलबार साँझ अब भोलिदेखि प्रतिवेदन लेखनको काम सुरू हुने जानकारी दिएका छन् । विशेष समितिले अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव र पूर्वमन्त्री जनार्दन शर्मालगायत व्यक्तिसँग यस प्रकरणमा सोधपुछ गरेको थियो ।

असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । साउन ५ गते छानबिन समितिको म्याद ७ दिनका लागि थप गरिएको थियो । सो अनुसार समितिको म्याद विहिबार सकिदै छ ।

छानबिन समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै