• २०८१ बैशाख १४ शुक्रबार

विद्यालयको क्यान्टिन बन्यो बाख्राको खोर

kharibot

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रुपमा प्रयोग गरेका छन् । 

स्थानीय गणेश साउदले विद्यालयको घरमा करिब १ दर्जन बाख्रा बाँध्नुका साथै घाँसदाउरा राख्ने गरेका छन् । साउदले विद्यालयको नाममा रहेको उक्त जमिन आफ्नो रहेको दाबी गर्दै विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको हो । 

गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रध्यानाध्यापक उत्तरबहादुर कुँवरले बताए ।

विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ । तर, स्थानीय गणेश साउद जमिन आफ्नो रहेको दावी गर्छन् । २०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि उक्त भवन निर्माण गरिएकोमा  थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्काे ठाउँमा सारिएको थियो । 

स्वास्थ्य चौकी अर्काे ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउदले बताए  । उक्त भवनलाई विद्यालयले दिवाखाजा पकाउने क्यान्टिनको रुपमा प्रयोग गर्दै आएको थियो । 

तर, गणेश साउदले भने स्वास्थ्य चौकीलाई आफुले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन् । उनले भने, ‘२०५२ सालमा स्वास्थ्य चौकीलाई  दान गरेको हँु, स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ ।’ 

नापीको टोली बोलाएर नापजाँच गरेको विषयमा आफु जानकार नरहेको उनी बताउँछन् ।  गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितको टोली छलफलमा बसे पनि स्थानीय गणेशबहादुर साउदले आफुले उक्त संरचना नछोड्ने अडान राखेपछि विवाद समाधान हुन सकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै