• २०८१ बैशाख १३ बिहीबार

क्षयरोग रणनीतिक योजना- मृत्युदर ६० प्रतिशत घटाइने

kharibot

काठमाडौँ । आर्थिक वर्ष २०९१/९२ सम्म क्षयरोगको अन्त्य गर्ने योजनासहित पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा ‘क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३’ सार्वजनिक गरेका हुन् ।

रणनीतिक योजनामा आव २०९१/९२ सम्म क्षयरोगको अन्त्य र आव २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ । 

केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले क्षयरोग सामाजिक रोग भएकाले सवैले मिलेर अन्त्य गर्नुपर्ने बताए ।

उनले क्षयरोगको कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार पनि शून्यमा झार्ने गरी रणनीतिक योजना ल्याइएको जानकारी दिए  । 

रणनीतिमा आवमा २०८२/८३ क्षयरोगका नयाँ बिरामी दरमा २४ प्रतिशतले कमि ल्याउने लक्ष्य राखिएको छ ।

उनका अनुसार रणनीतिक योजनामा आर्थिक वर्ष २०८२/८३ सम्म प्रतिलाख जनसङ्ख्यामा १८१ जना क्षयरोगका बिरामी झार्ने लक्ष्य लिइएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसङ्ख्यामा २३८ जना क्षयरोगका बिरामी रहेका छन् । 

योजनामा क्षयरोगबाट बिरामी भई मृत्यु हुने दर ६० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ ।

यस्तै रणनीतिक योजनामा २०८२/८३ मा प्रतिलाख जनसङ्ख्या २३ जना मृत्युदर झार्ने तयारी गरिएको छ । २०७७/७८ मा प्रतिलाख जनसङ्ख्यामा ५८ जना मृत्युदर रहेको छ । यस्तै क्षयरोगका बिरामीमा एचआइभी परीक्षण सतप्रतिशतमा पुर्याउने लक्ष्य लिइएको छ । अहिले ६९ प्रतिशतमा मात्र एचआइभी परीक्षण भएको छ ।

केन्द्रका निर्देशक डा ठाकुरले क्षयरोगलाई रणनीतिकअनुसार काम गर्दै जाने र सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त घोषणा गर्ने सरकारको लक्ष्य रहेको बताए  । 

उनले रणनीतिक कार्ययोजना सहित क्षयरोगको पहिचान, निदान तथा समयमा नै उपचार गर्न समुदायस्तरसम्म सक्रिय खोज पडताल गर्नुपर्ने बताए ।

उनका अनुसार गत वर्ष सात हजार क्षयरोगका बिरामी फेला परेको थिए भने यस वर्ष १० हजार फेला परेका छन् ।

मन्त्री खापुङले रणनीतिक योजनाअनुसार पाँच वर्षमा उल्लेखनीय मृत्युदर घटाउनुपर्ने बताए।

उनले रणनीतिमा भएको लक्ष्य पूरा गर्नका लागि प्रत्येक वर्ष र प्रत्येक महिनाको के के गर्न सकिन्छ भनेर कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए । 

उनले अझ पनि धेरै क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेकाले पत्ता लगाई उपचार गर्नुपर्ने बताए ।

सचिव डा रोशन पोखरेलले पाँच वर्षसम्म योजनाअनुसार काम गरेर क्षयरोगका बिरामी घटाउनुपर्ने बताए ।

उलने क्षयरोगले धेरै नै आर्थिक व्ययभार बढ्ने गरेको उल्लेख गर्दै योजनाअनुसार काम गर्न नसके मुलुक आर्थिकरुपमा धराशायी हुने बताए । 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले क्षयरोगका बिरामी पत्ता लगाउन सके क्षयरोग नियन्त्रण गर्न सकिने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले वडास्तरमा गएर क्षयरोगका बिरामी पत्ता लगाउनुपर्ने बताए ।

उनले योजनाले तय गरेको क्रियाकलापअनुसार सबै स्थानीय तहलाई क्षयरोगरहित बनाउनुपर्ने बताए । 

नेपालमा अहिले २६ हजार ६७७ क्षयरोगका बिरामी राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता गरिएका छन् । 

यस्तै नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी हुने अनुमान गरिए पनि अझ ४१ हजार ५०० बिरामी पत्ता लगाउन नसकिएको केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिए । नेपालमा प्रत्येक वर्ष १६ हजार मानिस क्षयरोगका कारणले मृत्यु हुने गरेका छन् ।

नेपालमा क्षयरोगको उपचार लागि पाँच हजार ५०३ डट्स केन्द्र, २२ वटा मल्टी ड्रग रेसिडेन्स उपचार केन्द्र र ८१ मल्टी ड्रग रेसिडेन्स उपचार उपकेन्द्र, एक वटा ड्रग रेसिडेन्स (होम) र छवटा ड्रस रेसिडेन्स होल्टल रहेका छन् । 

केन्द्रका निर्देशक डा ठाकुरले हरेक प्रदेशमा राष्ट्रिय क्षयरोग रेफ्ररेन्स प्रयोगशालालाई सुदृढीकरण गरी जिनएक्सपर्ट मेसिन उपलब्ध गराई क्षयरोगी पत्ता लगाउने बताए। यस्तै रणनीतिमा आधुनिक उपकरणको प्रयोग गरी समुदाय र स्वास्थ्य संस्थाबाट क्षयरोगका बिरामी पत्ता लगाउने, क्षयरोगका बिरामीको सम्पर्कमा आएका व्यक्तिको खकार जाँचका लागि सम्पर्क परीक्षण (कन्ट्याक्ट ट्रेसिङ)को विस्तार गर्ने, बालबालिकामा हने क्षयरोगको निदान र उपचार व्यवस्थापनलाई सुदृढ गर्नेजस्ता कार्ययोजना रहेका छन् । 

यस्तै पाँच वर्षमुनिका बालबालिकामा लेटेन्ट क्षयरोग सङ्क्रमणको उपचार ९० प्रतिशतभन्दा बढी पुर्याउने  योजना रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै