• २०८१ बैशाख ११ मंगलबार

गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी

kharibot


गण्डकी । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ ।

प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै  आउने जस्ता प्रवृत्ति देखिएको बताए ।

जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए  ।     

बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए  । 

मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् ।

सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएकोउनले बताइन् ।

कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरिन् ।

लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताए । करको दायरा फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए ।

धनमाया पोखरेल लामाले सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिइन् ।

उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याईन् ।

सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताइन् ।

योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उन्लेर बताइन् । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ ।

भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए  । मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताए ।

सत्तापक्ष आफैँभित्र लुछाचुँडीमा लागेको बताउँदै उनले जनताका अपेक्षालाई ध्यान नदिइएको बताए ।

आजको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै