• २०८१ बैशाख ८ शनिबार

बाजुरामा सय बढी गाउँ पहिरोको उच्च जोखिममा

kharibot

बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ ।

बुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरो प्रभावित छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोटलगायतका गाउँ स्थानान्तरण गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जगन्नाथ गाउँपालिकाको मुसेखोला, तल्लो हुनी र बस्केना गरी तीनवटा गाउँ उच्च जोखिममा छन् । त्यस्तै, स्वामीकार्तिक गाउँपालिकाका नौ गाउँ जोखिममा छन् । वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । 

हिमाली गाउँपालिकाका पाँचवटा गाउँ जोखिममा छन् । बडिमालिका नगरपालिकाका तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा छन्, । मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा प्रभावित छन् । गौमुल गाउँपालिकाका २१ गाउँका तीन सय ३२ परिवार उच्च जोखिम छन् । 

त्रिवेणी नगरपालिकाका १३ गाउँका ९ सय ७१ परिवारलाई अन्यत्र सारिनुपर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिका–१ विशाल बजारका एक सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोटकका दुई सय ७२ घरधुरी, वडा नम्बर ४ को पीपलसैन राउतेलाका एक सय ५७ घरधुरी, वडा ५ किम्नीका दुई सय १७ घरधुरी जोखिममा छन् । 

बुढीगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा छन् । खप्तड छेडेदह गाउँपालिकाका १४ गाउँका तीन सय ३२ परिवार जोखिममा छन् । गाउँपालिकाका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।

वर्षा सुरु भएसँगै अहिले सबै गाउँ पहिरोको उच्च जोखिममा छन् । हिउँदको समयमा कम पानी पर्ने हुँदा बसोवास भइरहे पनि वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढ्दा स्थानीयलाई कहाँ जाउ के, गरौं  हुन्छ । 

खोला, खोल्सा तथा नदी आसपासमा रहेका बस्ती जोखिममा हुँदा स्थानीयलाई वर्षेनि समस्या हुने गरेको छ । जिल्लामा धेरै परिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरण गर्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ । वर्षात्मा अधिकांश परिवारले घर छाड्ने गरे पनि स्थानीयलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण हुन सकिरहेको छैन । 

प्रतिकार्य योजनामा ती गाउँ अन्य ठाउँमा स्थानान्तरण गरिनुपर्ने जनाइएको छ । गाउँगाउँमा डोजरमार्फत सडक खन्दा बाढीपहिरोको जोखम निम्तिने गरेको छ । विपद् जोखिम कम गर्न र विपद् आइसकेपछि उद्धारलगायतका कार्यका लागि सबै निकायलाई निर्देशन दिइएको, सेना र प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै