• २०८१ बैशाख ७ शुक्रबार

कम क्षमताका ट्रान्सफर्मर राख्दा खानेपानी समितिलाई सास्ती

kharibot

काभ्रेपलाञ्चोक । खानेपानी आयोजनाका लागि बिजुलीद्वारा पानी तान्न राखिएका पाँच ट्रान्सफर्मर कम क्षमताका भएपछि तेमाल बृहत् खानेपानी आयोजना उपभोक्ता समितिले निकै सास्ती खेप्नुपरेको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरद्वारा निर्माण व्यवसायीमार्फत खरिद गरी राखिएका आवश्यकताभन्दा कम क्षमताका ट्रान्सफर्मरले पानी तान्ने मेशिन चल्न नसकेको हो । 

निर्माणाधीन खानेपानी आयोजनामा पानी वितरण गर्न परीक्षण गर्ने क्रममा कम क्षमताका ट्रान्सफर्मर राखिएको थाहा भएको उपभोक्ता समितिले जनाएको छ ।

समितिका अनुसार चन्द्र एन्ड वसन्त एमएम कन्स्ट्रक्शन जेभी नामक कम्पनीले उक्त आयोजनाको पाँच स्थानमा १५० केभिए क्षमताका ट्रान्सफर्मर राखेका थिए ।

तर ती ट्रान्सफर्मर खरिद मूल्यबारे जानकारी गराइएको छैन । त्यस क्षमताका ट्रान्सफर्मरले लिफ्टिंग खानेपानी आयोजनाका ७५ एचपी को पानी तान्ने मेशिन सञ्चालन नभएपछि उक्त क्षमताका ट्रान्सफर्मर परिवर्तन गर्नुपरेको आयोजना उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामसिं लामाले बताए ।

उनले अनुसार पानी तान्न पाँचवटै २०० केभिए क्षमताका ट्रान्सफर्मर आवश्यक भएकाले यसै साता ल्याइएको छ । 

नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले गत शुक्रबार अयोजनाका लागि २०० केभिए क्षमताका ट्रान्सफर्मर पठाएको छ ।

“प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनामा कम क्षमताका ट्रान्सफर्मर राखेर समस्या निम्तिएपछि २०० केभिए क्षमताका ट्रान्सफर्मर निःशुल्क रुपमा पठाउनुभएको हो”, लामाले भने । उनले कम क्षमताको ट्रान्सफर्मर राख्नुको कारणबारे जानकारी लिइने बताए  । 

आयोजनाको भक्तपुर कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले पछिल्लो समय उपभोक्ताको सङ्ख्या बढेपछि पानी तान्ने ठूला मेशिन राखेकाले आयोजनाद्वारा राखिएका ट्रान्सफर्मरले काम नगरेको बताए ।उनले भने, “ठूला क्षमताका ट्रान्सफर्मर आइसकेका छन्, पहिला राखिएका ट्रान्सफर्मर प्राधिकरणलाई हालको सट्टा दिनेछौँ ।”

उनले कम क्षमताका ट्रान्सफर्मर राख्नुको कारणबारे आफूले पनि छानबिन गर्ने बताए ।

आउँदो मङ्सिर महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने उद्देश्यले आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन एक वर्ष धकेलिएको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । 

लामाका अनुसार सो आयोजनाले तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध गराउनेछ ।

२३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्य भइरहेको छ ।

साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ । 

लिफटिंग प्रविधिको उक्त खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ ।

रोशी गाउँपालिका–७ कटञ्जेस्थित ११० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको लामाले बताए । 

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

सो  आयोजना विसं २०७२ असार महिनामा सम्झौता भएको थियो । विसं २०७२ को भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजना निर्माण सम्झौताले रोकेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै