काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् ।
महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।
मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ ।
यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको बताएको छ ।
महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।